शनिबार रातिको वर्षात्पछिको बाढीले पालुङटार नगरपालिका-९ स्थित खारखोला पुलको पहुँचमार्ग बगाएको जानकारी आएको छ । पैदलयात्रीलाई सजिलोका लागि बडुवा फाँट र पारी डिहि जोड्न खारखोलामा बनेको पुलको पहुँचमार्ग बाढीले बगाएको हो । उक्त पुल भएर धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी र स्थानीय आउजाउ गर्दै आएका थिए ।
पुलको पहुँचमार्ग बगाएपछि खारखोला वारपार गर्न समस्या थपिएको स्थानीय दीपक अधिकारीले बताए । ‘चार वर्षअघि पुल बनेको हो; पुल बनेपछि धर्मोदय पढ्ने विद्यार्थीलाई खारखोला वारपार गर्न निकै सजिलो भएको थियो,’ उनले भने, ‘अहिले विद्यार्थी घुमाउरो बाटोको प्रयोग गरी विर्दीनेरको काठे पुलबाट हिँड्न थालेका छन् ।’चार वर्षदेखि प्रयोगविहीनपछि जीर्ण बनेको काठे पुल स्थानीयले आइतबारबाट पुन प्रयोग गर्न थालेका छन् । पुलको पहुँचमार्ग बगाएपछि आइतबार खारखोलावारिका ८० विद्यार्थी विद्यालयमा अनुपस्थित भएको धर्मोदय माविका प्रधानाध्यापक कृष्ण न्यौपानेले बताए । ‘केहि विद्यार्थीलाई शिक्षकले खोला तारेर ल्याउनुभयो; साना कक्षाका विद्यार्थी विद्यालय आउन सकेनन्,’ उनले भने ।
‘असारको महिना खारखोलावारी खेत छ; मान्छेलाई मेलापर्म गर्नै समस्या पर्यो,’ अधिकारीले भने । ‘पानी एकातिर पुल एकातिर भयो, अब एक्साभेटरको प्रयोगबाट साविककै स्थानबाट पानी बग्ने बनाएर पुलबाट हिँड्न मिल्ने बनाउँछौं,’ पाण्डेले भने ।
प्रतिक्रिया