काठमाडौं : सांसदहरुले श्रीमान १० वर्षसम्म निरन्तर सम्पर्कविहीन भए श्रीमतीलाई एकल महिला भत्ता दिनुपर्ने प्रस्ताव गरेका छन् ।
सामाजिक सुरक्षा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्वय बिमला वि. क. र विमला विश्वकर्माले यस्तो प्रस्ताव अगाडि सारेका हुन् । उनीहरुले आफ्नो प्रस्ताव संसद सचिवालयको विधेयक शाखामा दर्ता गराएका हुन् ।
एकल महिलाको परिभाषामा ‘नियमित १० बर्षभन्दा बढी समय श्रीमान सम्पर्कविहीन वा बेपत्ता भएका महिला’ भनी थप गर्नुपर्ने उनीहरुको प्रस्ताव छ ।
प्रस्तावित विधेयकमा विधवा वा सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरेका, ६० बर्ष उमेर पूरा भएका, विवाह नगरेका एकल महिलामध्ये नेपाल सरकारले तोकेको भन्दा न्यून आय भएका र पालन पोषण तथा हेरचाह गर्ने परिवारको कुनै सदस्य नभएका वा त्यस्तो सदस्य भए पनि आर्थिक रुपले विपन्न अवस्थामा रहेका वा त्यस्तो सदस्यले पालनपोषण नगरेका महिलालाई एकल भत्ता दिने व्यवस्था छ ।
यही व्यवस्थामा संशोधन प्रस्ताव दर्ता गर्दै सांसदद्वयले श्रीमान १० बर्षसम्म निरन्तर सम्पर्कविहीन वा वेपत्ता भए श्रीमतीलाई एकल भत्ता दिनुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । दुबै संशोधनकर्ता सांसद प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद हुन् ।
प्रतिक्रिया