Logo

के रात्रिकालीन काम स्वास्थ्यका लागि खराब होर ? यसले मुटुलाई यसरी असर पुर्‍याइरहेको हुन्छ

तपाईँले फरक-फरक समयमा काम गर्नुपर्ने जागिर खानुभएको छ भने रात्रिकालीन सिफ्टमा काम गरेपछि तपाईँले थकित र निद्रालु महसुस गर्नुभएको होला।

तर के तपाईँलाई थाहा छ रात्रिकालीन सिफ्टमा काम गर्दा मुटुलाई नराम्ररी असर गरिरहेको पनि हुनसक्छ?

एउटा नयाँ अध्ययनले त्यस्तो असर कसरी हुन्छ भन्ने देखाएको छ र अध्ययनले हाम्रो ‘मतिष्क र मुटुको घडी’बारे बताउँछ।

काम गर्ने समय परिवर्तन भइरहँदा हाम्रो शरीरको तालमेल बिग्रन सक्छ र त्यसले मुटुलाई जोखिममा पुर्‍याउँछ।

र त्यो हाम्रो स्वास्थ्यका लागि धेरै खराब हुनसक्छ।

तालमेल बिग्रेको घडी

केम्ब्रिजस्थित एमआरसी ल्याबोरेटरी अफ मलिकुलर बायोलोजिले गरेको अध्ययनले दिनभरि कोषको रासायनिक सन्तुलन परिवर्तन गर्ने मुटुको प्रत्येक कोषको आन्तरिक घडीलाई निगरानी गरेको छ।

हाम्रो शरीरले मुटु सक्रिय रहँदा कठिन काम गर्न खोज्छ त्यसैले कठिन काम गर्दा मुटु छिटो धड्किने हो।

“मुटु कसरी धड्किन्छ भन्ने दुई वटा कुराले तय गर्छ: मस्तिष्कले दिने सङ्केत र मुटुको प्रत्येक कोषमा हुने सोडियम र पोटासियमको मात्रा,” अध्ययनको नेतृत्व गरेका डा. जोन ओनीलले बीबीसीसँग भने।

“स्वस्थ्य व्यक्तिमा यी असङ्ख्य कोषको तालमेल एक अर्कासँग मिल्छ,” उनले भने।

डाक्टर जोन ओनील

तस्बिर स्रोत,UKRI

तर अध्ययनले हामीले काम गर्ने समय परिवर्तन गरिरहँदा मस्तिष्कले त्यसलाई छिट्टै ग्रहण गर्ने तर मुटुका कोषहरूमा रहेको घडी भने पछाडि नै रहने देखाएको छ।

“केही दिनका लागि मुटुको अपेक्षासँग मस्तिष्कका सङ्केतहरूको तालमेल मिल्दैन,” डा. ओनील भन्छन्।

“हामीलाई त्यसैले फरक-फरक समयमा काम गर्ने मानिसहरू बढी जोखिममा छन् भन्ने लाग्छ।”

खासगरी राति र दिउँसो काम गर्ने समय परिवर्तन गर्दा खतरा बढाउँछ।

तर के कुरा ख्याल गर्नुपर्छ भने मुटुको समस्या देखिनुमा फरक समयमा काम गर्नु एउटा मात्रै कारण नभई परिवारको इतिहास, उमेर र खानपानले पनि फरक पार्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ,दिउसो छोटो समय निदाउँदाको फाइदा

स्वास्थ्यमा जोखिम

“मुटुमा थुप्रै नराम्रा समस्या आउन सक्छन्,” डा. ओनीलले भने। “सबैभन्दा डरलाग्दो भनेको सडेन डेथ सिन्ड्रोम हो जसमा मुटुले दुबिधामा परेर केही समयका लागि काम गर्न छोड्छ। तत्काल औषधोपचार भएन भने त्यसले मृत्यु नै पनि हुनसक्छ।”

यस्तो परिस्थिति विरलै हुन्छ।

तर फरक-फरक सिफ्टमा काम गर्दा त्यसले मुटुलाई मात्रै नभई पाचन प्रणाली र मानसिक अवस्थामा असर गर्नुका साथै क्यान्सरको समेत खतरा बढाउँछ।

“राति र दिनको सिफ्टमा परिवर्तन गर्दै गरेर काम गर्नु दैनिक एक बट्टा चुरोट पिए सरह हुन्छ,” डा. ओनीलले भने।

डेनमार्कजस्ता केही देशका सरकारले यस्तो खतराको पहिचान गरेको छ। उदाहरणका लागि त्यहाँ २० वर्षभन्दा बढी समय रात्रिकालीन काम गर्नेमा क्यान्सर देखिए क्षतिपूर्ति दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्