Logo

निर्माण सुरु नगरेका आयोजनाको पीपीए रद्द गर्छौं : ऊर्जामन्त्री भुसाल

‘लेउ वा तिर’ (टेक अर पे) प्रावधानमा विद्युत्–खरिद सम्झौता (पीपीए) गरेर हालसम्म पनि निर्माणको काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गर्ने तयारी थालिएको हो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘खुला पहुँच र प्रसारण मूल्य निर्धारणमा केन्द्रित अन्तरदेशीय विद्युत् व्यापार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ऊर्जामन्त्री पम्फा भुसालले लामो समयसम्म काम नथालेका आयोजनाको पीपीए रद्द गरिने बताएकी छिन् ।

‘हाल नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् भने करिब १६ सय मेगावाट बराबरका आयोजनाहरु टेक अर पे प्राबधानमै पीपीए हुँदा पनि निर्माणमा गएका छैनन्,’ मन्त्री भुसालले भनिन्, ‘लाइसेन्स लिने, पीपीए गर्ने तर निर्माणमा नगई खोला/नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गरी वास्तविक प्रवर्द्धकहरुलाई प्रोत्साहित गर्नेतर्फ हामीले कदम चाल्न आवश्यक छ । यो विषयमा हामी चाँडै केही निर्णय गर्छौं ।’

जलविद्युत् आयोजनामा हाल कायम रहेको ‘क्यू–४०’ प्रावधान चाँडै हटाउने पनि भुसालको भनाइ छ । ‘जलस्रोतको अधिकतम उपयोग गरी विद्युत् उत्पादन गर्न विद्यमान क्यु–४० को मापदण्डमा पुनरावलोकन गर्न आवश्यक छ,’ ऊर्जामन्त्री भुसालले भनिन्, ‘यो सीमा हटाएर जलविद्युत् आयोजना विकास गर्ने व्यवस्था लाइसेन्स र पीपीएमा मिलाउन हामीले आवश्यक अध्ययन र प्रक्रिया थालिसकेका छौं ।’

नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनामा क्यू–४० को प्रावधान जतिसक्दो चाँडो हटाएर पीपीए खुलाउने पनि उनले बताइन् । अहिले पीपीए हुने आयोजनाहरु उत्पादनमा आउन ४/५ वर्ष लाग्ने भएकाले थप पीपीए गर्नुपर्नेमा आफू स्पष्ट रहेको मन्त्री भुसालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्