Logo

सलमान खानलाई बन्दुक राख्ने अनुमति !

काठमाडौं । केही समयअघि बलिउड अभिनेता सलमान खानले हतियारको लाइसेन्स माग्दै मुम्बई प्रहरीलाई भेटेको खबर बाहिरिएको थियो ।

खासगरी मर्निङ वाकमा निस्कनुअघि उनका पिता सलिम र सलमानले ज्यान मार्ने धम्कीसहितको पत्र भेटेपछि असुरक्षा महसुस गरेका थिए । सोहीकारण सलमानले प्रहरी आयुक्तसँग सहयोग मागेका थिए ।

अब भने सलमानले मुम्बई प्रहरीबाट हतियार राख्ने अनुमति पाएका छन् । लाइसेन्सको लागि प्रहरीलाई अनुरोध गरेपछि प्रहरीले हतियार लाइसेन्स प्रदान गर्नुअघि सलमानलाई दिइएको भनिएको सुरक्षा चुनौतीबारे अनुसन्धान गरेको थियो ।

गत महिना सलमानले आफू र आफ्नो परिवारको सुरक्षाको लागि बन्दुक चाहिने दाबी गर्दै इजाजतपत्रको लागि प्रहरी अधिकृत विवेक फन्सालकरलाई भेटेका थिए ।

लरेन्स बिस्नोइ र उनको ग्याङबाट सलमानलाई सुरक्षा चुनौती थपिएपछि उनी बन्दुक राख्ने निधोमा पुगेका हुन् । खान परिवारलाई धम्की दिइएको यो पहिलोपटक भने होइन ।

सन् २०१८ मा कालो हरिण सिकारको मुद्दा चलिरहेको बेला पनि बिस्नोइ र उनको ग्याङले सलमानलाई मार्ने धम्की दिएका थिए ।

गायक सिद्धू मुसेवाला प्रकरणमा एक व्यक्ति पक्राउ परेको भए पनि सलमानलाई पुनः धम्की आएको छ । सलिम खान जगिङमा निस्कने बेला उनलाई पनि मुसेवालाकै जस्तो हालत बनाइदिने लेखिएको चिठी भेटिएको थियो । धम्की आएपछि सलमानले तत्कालै मुम्बई प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्