बागमतीका पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौँ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध बैंकिङ कसुर मुद्दामा अनुसन्धान गर्न अदालतबाट पक्राउ अनुमति जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत साता नै उनीविरुद्ध पक्राउ अनुमति लिएको हो।

प्रहरीका अनुसार प्रभु बैंकबाट लिइएको ३४ करोड रुपैयाँ ऋण दुरुपयोग भएको आशंकामा बानियाँमाथि अनुसन्धान भइरहेको छ। उक्त ऋण बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा लिइएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ऋण जुन प्रयोजनका लागि लिइएको थियो, त्यसअनुसार प्रयोग नगरी अन्य बैंक खातामा राखिएको र सेयरमा लगानी गरिएको देखिएको छ। यसै प्रकरणमा बानियाँका छोरा दिक्षान्तलाई गत कात्तिक १६ गते सीआईबीले पक्राउ गरेको थियो।

२०८२ साउनदेखि २०८३ भदौसम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका बानियाँ अहिले फरार रहेको प्रहरीले जनाएको छ। छोरामाथि भइरहेको अनुसन्धानका क्रममा बानियाँको संलग्नता पनि जोडिएपछि उनीविरुद्ध पक्राउ अनुमति लिइएको हो।