Logo

काठमाडौं महानगर: गत आर्थिक वर्षमा स्वीकृत बजेटको ५० प्रतिशतभन्दा कम खर्च

काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा स्वीकृत बजेटको ५० प्रतिशतभन्दा पनि कम खर्च गरेको छ। बुधबार राष्ट्रिय सभा गृहमा भएको वार्षिक समीक्षा बैठकमा महानगरपालिकाले गत आर्थिक वर्ष २०७८-०७९ मा ७ अर्ब ३१ करोड ३५ लाख २९ हजार ४४२ रुपैयाँ खर्च भएको महानगरको वित्त विभागले जानकारी दिएको छ।

गत आर्थिक वर्षको लागि महानगरले १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार रुपैयाँ बजेट स्वीकृत गरेको थियो। जुन महानगरको स्वीकृत बजेटको ५० प्रतिशतभन्दा कम बजेट हो। बैठकमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले समीक्षाबाट राम्रा कामलाई निरन्तरता दिन र कमजोरी सुधार गर्न मद्दत पुर्‍याउने बताएका छन्।

‘यस्ता समीक्षाले चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनमा सहयोग हुन्छ,’ बालेनले भने, ‘यस वर्ष स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्छ।’ प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले प्रस्तुतिहरूमा समस्यासँगै समाधानका उपाय सुझावका रूपमा आउनुपर्ने बताएका छन्।

‘प्रस्तुतिहरूमा समस्यासँगै समाधानका उपाय सुझावका रूपमा आउनुपर्छ,’ पौड्यालले भने, ‘समीक्षाबाट प्राप्त भएको तथ्यका आधारमा सुधार गर्दै जानुपर्छ। विगतमा देखिएका कमजोरी दोहोरिन दिनु हुँदैन। यसबाट महानगरले चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनमा प्रगति गर्न सक्छ।’

महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धरले जनप्रतिनिधिले बनाएका नीति कर्मचारीहरूले प्रभावकारी कार्यान्वयन गराउनुपर्ने बताएका छन्। गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्यांकनका लागि समीक्षा बैठक आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्