Logo

नाकबाट रगत बग्ने समस्या: कारण र रोकथामको उपाय

नाकबाट रगत बग्ने समस्यालाई मेडिकल भाषामा एपिस्टेक्सिस भनिन्छ। यो मेडिकल इमर्जेन्सी अवस्था हो। धेरै मानिसहरू यो समस्याबाट पीडित हुने गर्दछन्। लगभग ६० प्रतिशत जनसङ्ख्याले आफ्नो जीवनकालमा यो समस्या भोगेका हुन्छन् र त्यसमध्ये पनि झन्डै ६ प्रतिशतलाई विशेष उपचारको आवश्यकता पर्दछ। समयमै उपचार नपाएको खण्डमा उच्च रक्तस्रावका कारण ज्यान जान सक्ने भएकाले पनि यस सम्बन्धी जानकारी पाउन आवश्यक छ।

रगत बग्नुको कारण
शरीरको अन्य भाग जस्तै नाक भित्र पनि स-साना रक्तनलीहरू हुन्छन्। नाकको अगाडि भाग तिर ती रक्तनलीहरू जेलिएर बसेका हुन्छन् जसलाई मेडिकल भाषामा ‘लिटिल्स एरिया’ भनिन्छ। यो भागबाट रगत बग्ने सम्भावना धेरै हुन्छ तथापि नाकको अन्य भागबाट पनि रगत बग्न सक्दछ।

सुख्खापनले गर्दा जाडो मौसममा रक्तनली फुट्ने तथा रगत बग्ने समस्या बढी देखिन्छ। यस्तै नाक कोट्‌याउने बानी भएकाहरूमा पनि यो समस्या धेरै देखिन्छ।

रगत बग्नुको अन्य कारणमा रुघाखोकी, पिनास, नाकभित्र मासु पलाउनु रगत पातलो बनाउने औषधिहरू (एस्पिरिन, वार्फारिन) प्रयोग गर्नु आदी पर्दछन्।

उच्च रक्तचापले आफैं एपिस्टेक्सिस सुरु नगराए पनि बढी रगत बग्ने हुने गर्दछ। यो समस्या जुनसुकै उमेरको मानिसहरूलाई हुने भएता पनि विशेषतः बच्चा र वृद्धमा बढी देखिने गर्दछ।

रगत आउने बित्तिकै के गर्ने?
नाकबाट रगत बग्ने बित्तिकै टाउकोलाई हल्का अगाडि तर्फ घोप्टो बनाइ औलाले नाक च्यापेर करिब १० मिनेट राख्नुपर्दछ। यस बिचमा छिन-छिनमा रगत आयो कि छैन भनेर हेर्न हुँदैन। यसका साथै नाकको डाँडीमा आइस राख्दा रगत बग्न छिटो रोकिन्छ। यति गर्दै थप उपचारको लागी अस्पताल लैजानुपर्दछ।

खतरनाक अवस्था कुन भनेर चिन्नको लागि कति रगत खेर गयो, अगाडि की पछाडिको नली फुट्‌यो आदि कुराहरू ख्याल गर्नुपर्दछ। अत्यधिक रगत खेर जाने तथा बिरामीले घुटुघुटु निलिरहेमा पछाडिको नली फुटेको अनुमान गर्न सकिन्छ। यस्तो अवस्था खतरनाक हुने हुँदा अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुन्छ।

अस्पतालमा गरिने उपचार विधिहरू
-बिरामीलाइ उचित परामर्श गरी शान्त बनाइन्छ।
– धेरै रक्तस्राव भएमा रगत चढाउनु पर्दछ साथै रगत बग्नुको कारण पत्ता लगाउन कोसिस गरिन्छ।
-नाक जाँच्ने क्रममा कुनै रक्तनली फुटेको देखिएमा टाल्ने/डाम्ने गरिन्छ।
-फुटेको नली स्पष्ट नदेखिएमा नाकमा कम्तीमा दुई दिन प्याकिङ गरिन्छ।
-कुनै कुनै अवस्थामा एम्बोलाइजेशन (एरिनल लिगेसन)पनि गर्नुपर्ने हुन्छ।

रोकथामका उपायहरू
-नाक कोट्याउने बानी हटाउने।
-सुक्खा हुन नदिन नाक भित्र भ्यासलिन लगाउने।
-रगत पातलो बनाउने औषधीहरू विशेषज्ञको परामर्शमा कम गर्ने।
-रक्तचाप सन्तुलनमा राख्ने।
-कब्जियत हुन नदिने/ भएमा उपचार गर्ने।
– प्रशस्त मात्रामा पानी पिउने।

-(डा देवकोटा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा इएनटी-हेड एन्ड नेक सर्जनका रुपमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्