Logo

बञ्चरेडाँडामा फोहोर बोकेको गाडीको अवरोध हटाउन प्रहरी परिचालन

काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् ।

आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए । उनीहरुलाई नेकपा एमाले र राप्रपाका नेताले पनि साथ दिएका स्थानीय वासिन्दाले बताए।

राजनीतिक दलहरुको अवरोधका कारण सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् । आइतबार गएका २५ वटा गाडीले मात्र फोहोर खसालेका थिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक रमेश पाण्डेले फोहोरको गाडीमा भएको अवरोध हटाउन २५० जना प्रहरी कर्मचारी परिचालन गरिएको बताएका छन् ।

पाण्डेले भने ‘हामीले विहानबाट रोकिएको फोहोर खसाल्न आवश्यक प्रहरी खटाएका हौं । नुवाकोट, धादिङ र काठमाडौं परिसरबाट प्रहरी खटिएका छन् । धादिङतर्फ स्थानीयले ४० वटा ट्रकहरु सडकमै तेस्र्याएर राखेका छन् । त्यो खोल्नुपर्ने छ, त्यसकैको लागि प्रहरी परिचालित भएका हुन् ।’

पाण्डेले काठमाडौं महानगरको फोहोर बोक्ने गाडी र अन्य उपकरण तोडफोड गर्नेहरुलाई खोजी गरिरहेको बताए ।

बञ्चरेडाँडाका स्थानीय दिलिप तामाङका अनुसार अहिले आन्दोलनकारीहरुलाई प्रहरीले चारैतिरबाट घेरा हालेको छ । ‘१५–२० गाडी प्रहरी आएका छन् । तलबाट अरु गाडीमा पनि प्रहरी आउँदैछन् । यहाँ आन्दोलन गर्नेहरुलाई चारैतिरबाट घेरा हालेको छ । सडकभरि प्रहरीको लाइन लागेको छ । यहाँका जनता आतंकित भएका छन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्