Logo

डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला

तीन दिन अघि घोराही उपमहानगरपालिकाले कर्जाहीमा निर्माण गरिएको कृत्रिम ताल (जलाशय) मा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको हो । घोराही–१७ का ४० वर्षीय अम्मर चौधरीको शव आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् ।

सोमबार दिउँसो करिब १२ बजे सो तालमा घोङ्घी खोज्न कुलो हुँदै गएका चौधरी तालमा खसेर बेपत्ता भएका थिए । चौधरी तालमा खसेर डुबेर बेपत्ता भएको भन्ने खबर पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको थियो ।

आज सशस्त्र प्रहरी बल नेपाल नं २९ ज्वालामाई गण भालवाङका सशस्त्र प्रहरी सहायक कमल रेग्मीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन टोलीले उनको शव फेला पारेको प्रहरीले जनाएको छ । चौधरीको शव ड्याममा रहेको सुकेको रुखको जरासँगै हिलोमा गाडिएको अवस्थामा फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्