Logo

अखिल (क्रान्तिकारी) विद्रोही समूहले चुनाव लक्षित फोर्स गठन गर्दै माइतीघर देखि बानेश्वर सम्म मार्च पास गरे

नेकपा ( माओवादी केन्द्र ) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी )को विद्रोही समूहले ‘क्रान्तिकारी फोर्स’ गठन गरेको छ । पवन कार्की नेतृत्वको विद्रोही समूहले गठन गरेको रिभोलुसनरी फोर्सले मंगलबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्च पाससमेत गरेको छ ।

अध्यक्ष पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स २२ भदौमा सार्वजनिक गर्ने घोषणा तयारी गरेको छ । समानान्तर गतिविधि गर्दै आएको कार्की नेतृत्वको समूहले त्यसको एक दिनअगाडि अर्थात २१ भदौमा नै सोही प्रकृतिको फोर्स गठन गरेको हो ।

अखिल क्रान्तिकारीको विद्रोही समूहका प्रवक्ता उपदेश यादवले २१ भदौमा काठमाडौंमा क्रान्तिकारी विद्यार्थीको दस्ताका रूपमा रिभोलुसनरी फोर्स घोषणा तथा मार्चपास कार्यक्रम गरिएको बताए । हजारौं विद्यार्थी को उपस्थितिमा विद्रोही क्रान्तिकारीले गरे माइतीघर देखि बानेश्वर सम्म मार्चपास ।

‘राष्ट्रियता, गणतन्त्र र संविधानको रक्षक हौं हामी ! भ्रष्ट, दलाल र माफियाहरूका विरुद्ध लड्ने क्रान्तिकारी योद्धा हौं हामी, भन्ने नाराका साथ भदौ २१ गते मंगलबारको दिन दिउँसो २ बजे माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म मार्चपास गरेका छौं,’ प्रवक्ता यादवले भने ।

पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले आगामी निर्वाचनलाई लक्षित गरी देशभरका कार्यकर्ताबाट छानेर क्रान्तिकारी फोर्स नामको संगठित दस्ता बनाउने जनाएको छ । त्यसको घोषणा पार्टी अध्यक्ष प्रचण्डमार्फत गरिने भनेर प्रचार गरिएको छ ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा एकलौटी ढंगले केन्द्रीय समिति र पदाधिकारी चयन गरेको भन्दै कार्की नेतृत्वको समूह असन्तुष्ट छ । सो समूहले देशैभर समानान्तर गतिविधि गर्दै आएको छ ।

अध्यक्ष पञ्चा सिंहले कार्की र उनको समूहका नेतालाई संगठनबाट निष्कासन गरेको निर्णय गरे पनि माओवादी अध्यक्ष प्रचण्डको हस्तक्षेपका कारण उक्त निर्णय कार्यान्वयन भएको छैन ।

अध्यक्ष प्रचण्डले कार्की समूहलाई बेवास्ता गर्न नमिल्ने भन्दै उनीहरूलाई पनि मिलाएर जान अध्यक्ष सिंह र फ्राक्सन इन्चार्ज हितमान शाक्यलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्