Logo

देशको सेवा गर्न कुनै पार्टीको झोला भिर्नै पर्छ भन्ने छैन: कमला प्रसाई

देशको सेवा गर्न कुनै पार्टीको झोला भिर्नै पर्छ भन्ने छैन !

कमला प्रसाई हाल अमेरिका

एउटा असल नागरिक भएर देशको सेवा गर्न कुनै पनि पार्टीको झोला भिर्नै पर्छ भन्ने जरुरी छैन । चाहे प्रजातन्त्रमा होस् चाहे गणतन्त्रमा होस् पार्टीको झोला भिरेर पार्टीबाटै बलीको बोका बनेका धेरै उदाहरणहरु छन् । त्यसैले एउटा असल नागरिकले कुनै पार्टीको नभएर देशका नागरिकहरुको हितको निम्ति काम गर्ने बेला आएको छ ।

अब हाम्रो देश नेपालमा यो दिन मात्र पर्खन बाँकी छ, गाउँ-गाउँबाट, वस्ती-वस्तीहरुबाट जनताहरुले अगुवा ईमान्दार समाजसेवी जसले समाज र देशलाई नै भलो हुने काम गरेको छ त्यस्तो व्यक्तिलाई नेतृत्व सुम्पिने दिन आउने छ ।

जुनसुकै सरकार आएपनि निराशाजनक कार्यकाल टुङ्गिएको छ । जनताले उपलव्धीमुलक मुल्यांकन गर्न पाएकै छैनन् । नेपाली जनता सधैं चपेटामा परिनै रहे । जनताको चाहना नेताहरुले कहिल्यै पुरा गरेनन्, आफ्नै स्वार्थसिद्धको निमित्त मात्र राजनीति गरे ।

नयाँ सरकारले पुरानै नेतृत्वको जस्तो काम नगरोस् । नयाँ सोच, नयाँ बिचारले सृजनशिल कामहरु गरेर अगाडी बढोस् । देशमा थुप्रेका कामहरु एक एक गरेर पूर्ण गरोस् । विपक्षी पार्टीहरुले पनि राम्रो काम गर्दा देशको निमित्त हो भन्ने ठानेर सहयोग गर्ने बेला हो, सत्तामा पुग्नको लागि मात्र उपाय गर्ने काम नगरौं । देश धेरै पछि परिसकेको छ ।

अहिले हाम्रो देशमा पार्टीको व्यक्ति भन्दा पनि एउटा असल नागरिक भएर देशको निमित्त काम गर्ने बेला आएको छ । जताततै मनहरु भत्किएका छन्, आत्माहरु रोएका छन्, संरचनाहरु टुटेका छन्, सबै कुरा छताछुल्ल छ, यस्तो अवस्थामा पार्टीको कार्यकर्ता-नेता नभएर नेपालको एउटा ईमान्दार, सच्चा देशभक्त्त नागरिक भएर देशको निम्ति सोच्ने बेला आईसकेको छ ।

अन्तिममा, देश भित्र भएका नेपाली हुन् या देश बाहिर भएका नेपाली हुन् सबैले आ-आफ्नो क्षेत्रबाट नेपालको निमित्त आफ्नो कर्तव्य पालन गर्न पछि नपरौं । बुद्ध र सगरमाथाको देश भनेर हामीहरुले जसरी गर्व गर्छौं त्यसै गरेर देशको निमित्त केहि राम्रो काम गरेर गर्व गर्न सकौं ।

 

प्रतिक्रिया दिनुहोस्