Logo

बालेनले काठमाडौंमा डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टचारीहरूमाथि डोजर चलाउने इच्छा छ : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘मेयर बालेन शाहले काठमाडौंमा अनधिकृत संरचनामा डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टचारीहरूमाथि डोजर चलाउने इच्छा छ,’ उनले बताए।

उनले भने अभिभावकीय संस्थाका रूपमा राजा रहनुपर्ने बताएका छन्। साथै प्रधानमन्त्री कार्यकारी हुने व्यवस्थाको पक्षमा राप्रपा रहेको बताए। त्यस्तो प्रधानमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्छ।

‘जनताले सोझै निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री, अभिभावकीय संस्थाको रूपमा राजा रहने व्यवस्था कायम हुनुपर्छ,’ बसन्तपुरमा आज राप्रपाले गरेको आमसभामा उनले भने, ‘हिन्दु राष्ट्र नेपाल बन्नुपर्दछ।’

उनले पटकपटक असफल भएका दल र तिनका नेतालाई दोहोर्‍याएर भोट दिने गल्ती गर्ने भनेको देश बरबाद गर्ने काममा सहभागी हुनु हो भनेका छन्।

उनले अहिलेका नेता र व्यवस्था नै असफल भइसकेको दाबी गरेका छन्। उनले पूर्ण समानुपातिक संसद र सांसदले मन्त्री हुन नपाउने व्यवस्थाका पक्षमा आफूहरू रहेको बताए।

उनले ठूला दलका नेतालाई कतिपटक प्रधानमन्त्री बनाउँदा यो देश विकसित हुन्छ भन्ने प्रश्न पनि गरेका थिए।

‘म कांग्रेस र कम्युनिष्टका साथीहरूलाई सोच्न चाहन्छु, कतिचोटी र कति वर्ष तपाईंहरूका नेतालाई प्रधानमन्त्री बनायो भने देश बन्छ त?,’ उनले प्रश्न गरे।

उनले अब कांग्रेस एक्लैले बहुमत ल्याउने अवस्था नरहेको पनि बताए। कांग्रेसले जम्मा ८५ सिटमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको दाबी उनको थियो। तर कांग्रेसले ९१ सिटमा उम्मेदवारी दिएको छ।

उनले २०४६ सालपछि नेताहरूका सम्पत्ति छानविन गर्न नागरिक आयोग गठन गर्नेबारे पनि बताएका थिए।

लिङ्देनले यसपटक मत बदल्न कांग्रेस र एमाले समर्थितलाई आग्रह गरेका थिए। उनले तीस वर्षदेखि सीमित दलका सीमित नेताले देशलाई सिण्डिकेटमा राखेको र अर्थतन्त्र र बेरोजगारीको अवस्था सिर्जना भएको बताए।

‘तीन दशकदेखि राजनीतिक दलले देशको नेतृत्व गरिरहेका छन्। ती नेतृत्व र अहिलेको व्यवस्था पनि असफल भयो,’ उनले भने, ‘व्यवस्था र नेतृत्वमा परिवर्तन गरिँदैन भने देश परिवर्तन हुन्न। हाम्रो जीवनकालमा यो देश बनेको देख्न चाहनेहरू सबैले राप्रपालाई मतदान गर्न अपिल गर्न चाहन्छु।’

उनले संसदमा पाँच वर्ष आफू एक्लै भएको बताएका थिए।

‘अब मलाई साथी चाहिएको छ,’ उनले भने, ‘मैले संसदमा ठिक कुरा उठान गरेको छु भने मलाई साथीहरू दिनुहोस्। म साथीहरूसहित यो संसदमा जान चाहन्छु। तपाईंहरूको विश्वासमा धोका हुने राप्रपाले काम गर्दैन।’

प्रतिक्रिया दिनुहोस्