Logo

मह सिकार गरेको हेर्न राजेश हमालसहितका कलाकार भुजुङ गाउँमा (हेर्नुहोस भिडियो सहित)


बिहीबार बिहान लमजुङ जाँदै गर्दा अभिनेता राजेश हमालले आफ्नो हिट फिल्म ‘अल्लारे’को गीत ‘भीरमौरीलाई भीरकै पिर घरमौरीलाई घरकै पिर गुन्गुनाए । उनले यो गीत गाउनुको पछाडि मौरी र मह सिकारको सन्दर्भ जोडिएको छ । मह सिकारको दृश्यावलोकन गर्न हमालसहितका कलाकारहरु विपिन कार्की, वर्षा सिवाकोटी, विजय लामा, सिते बा, सुनिल पोखरेल, रामकृष्ण ढकाल लगायत लमजुङ पुगेका छन् । त्यहाँको भुजुङ गाउँ पुगेर मह सिकार हेर्ने कार्यक्रम छ । भुजुङ लाग्नुअघि हमालले आफू मह पारखी भएको सुनाए । ‘एकपटक टेस्ट गरेपछि कुन गुणस्तरको मह हो भन्ने थाहा पाउँछु,’ उनले सुनाए । म महको पारखी समेत हुँ,’ उनले भने ।

ओस्कार मनोनित फिल्म ‘क्याराभान’ निर्देशक एरिक भ्यालीको मह सिकारबारेको फोटोग्राफी पुस्तकको स्मरण पनि हमालले गरे । उनीसँगै रहेका अभिनेता कार्की र नायिका सिवाकोटीले पनि पहिलोपटक मह सिकार हेर्न जाने लागेको र आफूहरु उत्साहित भएको बताए । पर्यटन प्रवद्र्धन गर्न आयोजित स्पार्क एड्भेन्चर अभियानको लागि कलाकार लमजुङ पुगेका हुन् । पर्यटन प्रवर्द्धन हुने भएकाले कलाकारले निःशुल्क भाग लिएको जनाइएको छ ।

भुजुङ जानुपूर्व राजेश हमालले स्पार्क एड्भेन्चर २०२२ अभियान उद्घाटन पनि गरे । दुई दिनको उक्त यात्रामा कलाकारले लमजुङको रमणीय गुरुङ गाउँ घलेगाउँ पनि घुम्नेछन् । पर्यटन प्रवद्र्धनको लागि कलाकारले मुलुकका अन्य रमणीय स्थान पनि घुम्ने तयारी रहेको एड्भेन्चरका प्रमुख रोशन घिमिरेले जनाए ।

प्रतिक्रिया दिनुहोस्