Logo

राहदानी विभागमा खटिन मान्दैनन् कम्प्युटर अपरेटरहरू आखिर किन ?

राहदानी तथा कन्सुलर विभागमा खट्न निर्देशन दिएका कम्प्युटर अपरेटरहरू तोकिएको कार्यक्षेत्रमा जान अटेर गरेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस १७ गते विभिन्न मन्त्रालय र मातहतका निकायमा कार्यरत ३० कम्प्युटर अपरेटरलाई राहदानी विभाग तथा कन्सुर विभागमा खट्न निर्देशन दिएकाे थियाे ।

तर तीन साता बित्दासमेत दुई-तीन जनाबाहेक अन्य कर्मचारीहरू ताेकिएकाे कार्यक्षेत्रमा नखटिएकाे पाइएकाे छ । विभागमा हाजिर हुन नगएपछि सामान्य प्रशासन मन्त्रालयले पुनः सूचना जारी गरी कार्यक्षेत्रमा खटिन अनुराेध गरेकाे छ । संवैधानिक आयोग र मन्त्रालयको तुलनामा राहदानी र कन्सुलर विभागमा कामको चाप धेरै हुने भएकोले कम्प्युटर अपरेटरहरू जान नखोजेको देखिन्छ,” मन्त्रालय स्राेतले भन्याे,”तोकिएको जिम्मेवारी पुरा गर्नु उहाँहरु जानैपर्ने हुन्छ ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै मन्त्रालयका सचिवहरुलाई ३० बुँदे निर्देशन दिने क्रममा राहदानी विभागमार्फत दिइने सेवाको समस्या एक महिनाभित्र हल गर्नुपर्ने विषय पनि समावेश गरिएको थियो । सोही अनुरुप सामान्य प्रशासन मन्त्रालयले तीन महिना (काज)का लागि राहदानी विभागमा १९ जना तथा कन्सुलर विभागमा ११ जना गरी कूल ३० कम्प्युटर अपरेटर उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्