Logo

जनतालाई केन्द्रविन्दुमा राखेर जनमुखी प्रहरी सेवा प्रदान गर्न डिआईजी अशोक सिंहको निर्देशन

सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी अशोक सिंहले जिल्ला प्रहरी कार्यालय कैलालीको अनुगमन गर्नुका साथै सम्पुर्ण प्रहरी अधिकृतहरुलाई प्रहरी संगठनले लिएको लक्ष्य र उदेश्य अनुरुप सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै डिआईजी सिंहले उक्त कुरा बताउनु भएको हो । साथै बर्तमान अवस्थामा आम नागरिकको प्रहरी प्रतिको आस्था र विश्वास एवं अपेक्षा बढ्दै गईरहेको र जनताले अब प्रहरीलाई आफ्नो प्रमुख सहयात्रीका रुपमा लिएकाले प्रहरी पनि नागरिक प्रति उत्तरदायी भई सकरात्मक सोचका साथ जनतालाई नै केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा सम्पादन गर्न उहाँले निर्देशन गर्नुभएको छ ।

प्रहरी कर्मचारीहरु उच्च आचरण र व्यवहारको नमूना बनुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै वाँहाले कुनै स्वार्थ वा प्रलोभनमा परी काम कारवाही गरेमा वा कुनै गैरव्यावसायिक क्रियाकलापमा प्रहरी कर्मचारीहरु संलग्न भएको पाइएमा त्यसको नैतिक दायित्व सम्बन्धित कमाण्डरमा समेत हुने भएकोले त्यस्ता कार्य कुनै हालतमा क्षम्य नहुने बताउनुभयो ।

अपराध अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन धैर्यता, लगनशीलता र उच्च व्यावसायिकताले मात्र सम्भव हुने र लैंगिक तथा घरेलु हिंसा लगायतका घटना न्यूनीकरणका लागि सामुहिक रुपमा एक्यबद्ध भई काम गर्नुपर्ने चर्चा गर्नुभयो । सिमावर्ती क्षेत्रहरुबाट हुन सक्ने घुसपैठ, चोरी पैठारीलाई रोक्न सिमावर्ती क्षेत्रहरुमा बिशेष ध्यान दिन समेत निर्देशन दिनु भएको थियो । बर्षा याम शुरु भएसंगै आगलागी, बाढी पहिरो जस्ता प्रकोपका घटनाहरु हुन सक्ने हुँदा समयमै कार्य योजना बनाई तयारी अवस्थामा रहनु पर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्