Logo

तपाईंहरू सिडिओ र डिएसपी छान्न छोडेर प्रणाली सुधारमा सघाउनुस्: गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिल्लामा प्रमुख जिल्ला अधिकारी र डिएसपीमा आफ्नो मान्छे सिफारिस गर्ने काम छोडेर प्रणाली सुधारमा सघाउन आग्रह गरेका छन्।

मंगलबार संसदमा बोल्दै गृहमन्त्री लामिछानेले पुराना राजनीतिक दलहरूले राज्य संयन्त्रलाई थिलोथिलो बनाएको आरोप लगाए। ‘राज्यका संरचनामा प्रणालीगत सुधार आवश्यक छ। तपाईंहरू जिल्लामा आफ्ना मान्छे पठाउन सिफारिस गर्न छोड्नुस्। राज्यका सबै मान्छे हाम्रा मान्छे हुन्। तपाईंहरूले सिफारिस गर्न छोड्नुभयो भने मात्रै हाम्रो आधा काम सहज हुनेछ,’ लामिछानेले भने।

लामिछानेले संसदको बहस पट्यारलाग्दो भएको भन्दै विषयमा केन्द्रित हुन पनि सांसदहरूलाई सुझाव दिएका छन्। ‘नयाँ आशा र उमंग बोकेर संसदमा आएका हामीलाई संसदको उपस्थिति उत्साहजनक देखिएको छैन। बहसलाई विषय केन्द्रित बनाइएन भने सांसदहरूको कुरा सुन्न जनतालाई उत्साह हुने छैन,’ उनले भने।

गृह प्रशासनमा केही दिनभित्रै परिणाम देखिने दाबी लामिछानेले गरेका छन्। पछिल्लो समय हत्या आरोपी एमालेका सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री लामिछानेको आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्