काठमाडौँ । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले लोकसभाको सिट संख्या ५० प्रतिशतले बढाएर ८१५ पुर्याउने प्रस्तावलाई स्वीकृति दिएको छ। हाल ५४३ सिट रहेको लोकसभामा प्रस्ताव कार्यान्वयन भए २७२ सिट थपिनेछन्।
प्रस्तावअनुसार थपिने सबै सिट महिलाका लागि आरक्षित गर्न सकिनेछ। साथै, आगामी २५ वर्षसम्म सिट संख्या परिवर्तन नगर्ने सरकारको योजना छ। आगामी नोभेम्बर ३० देखि सुरु हुने संसद्को विशेष अधिवेशनबाट विधेयक पारित गराउने तयारी गरिएको छ।
यसअघि गत अप्रिलमा निर्वाचन क्षेत्र पुनर्निर्धारण र महिला आरक्षणसम्बन्धी संविधान संशोधन विधेयक लोकसभाबाट पारित हुन सकेको थिएन। दुई तिहाइ समर्थन आवश्यक पर्नेमा विधेयकको पक्षमा २९८ र विपक्षमा २३० मत परेको थियो। आवश्यक ३५२ मत नपुग्दा विधेयक असफल भएको थियो।
नयाँ प्रस्तावमा सबै राज्यको विद्यमान सिट संख्यामा समान रूपमा ५० प्रतिशत वृद्धि गर्ने र सन् २०५१ सम्म राज्यहरूबीचको हालको प्रतिनिधित्व अनुपात कायम राख्ने योजना छ। यद्यपि, विधेयक पारित गराउन आवश्यक दुई तिहाइ समर्थन जुटाउन सरकारलाई चुनौती रहेको छ।

















प्रतिक्रिया