Logo

आज शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज शहीद दिवस । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइन्छ ।

शहीद दिवसको अवसरमा शहीदलाई प्रत्येक बर्ष सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाइदै पनि आइएको छ । विसं २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

यस अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोलीलगायतले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्