Logo

३ गोलसहित वडा १४ फुटसल प्रतियोगिताको विजेता, को भए उपविजेता ?

काठमाडौ । ‘प्रयागराज सिंह सुवाल स्मृति फुटसल प्रतियोगिता’ को फाइनल खेलमा आज वडा नंं १३ को टीमलाई १ गोलको अन्तरले पराजित गर्दै वडा नं. १४ विजेता भएको छ । लैनचौर फुटसल ग्राउण्डमा भएको खेलमा वडा नं. १४ को टीमले ३ गोल र वडा नं. १३ को टीमले २ गोल गरेको थियो ।

प्रतियोगिताको विजेतालाई काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले र उपविजेता टीमलाई उपप्रमुख सुनिता डंगोलले ट्रफी, सम्मान पत्र र पदक प्रदान गर्नुभयो । विजेता टीमलाई २ लाख रुपैयाँ र उपविजेता टीमलाई १ लाख रुपैयाँ राशीको पुरस्कार दिइएको थियो ।


प्रतियोगितामा सर्वश्रेष्ठ खेलाडीका रुपमा आशिष कपाली घोषित हुनुभयो । कपालीसहित उत्कृष्ट गोल रक्षक विपिन थापा मगर, सर्वाधिक गोलकर्ता मनिष रानाभाट, म्यान अफ द म्याच एरोन खड्कालाई जनही १० हजार रुपैयाँ र पदकसहित पुरस्कृत गरिएको थियो । प्रतियोगितामा महानगरका ३२ वडामध्ये ३० वटा वडा र महानगर केन्द्रको टीमले प्रतिस्पर्धा गरेका थिए । यसमा खुला उमेर समूहका करिब ३ सय २० खेलाडीविच प्रतिस्पर्धा भएको थियो । भदौ २६ गतेदेखि नकआउटका आधारमा हरेक दिन विहान ८ बजेदेखि १२ बजेसम्म खेल खेलाइएको थियो ।

हरेक दिनका खेलमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । खेलाडीसँगै वडाध्यक्ष, वडा सदस्य तथा कार्यपालिका सदस्यहरु खेलाडीका उत्साहका लागि प्रतियोगितामा आउनुभएको थियो ।

खेलको समापन अवसरमा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, खेलमार्फत स्वास्थ्यको प्रबर्धनमा महानगरले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । ‘पुरुष फुटसल रोचक रह्यो । अब महिला र बालबालिकाका लागि पनि खेल खेलाउनु पर्छ ।’ डंगोलको भनाइ थियो ।

प्रतियोगिताले युवाहरुलाई स्वच्छ प्रतिस्पर्धा गर्न र स्वस्थ्य रहन मद्दत पुगेको छ । यसबाट राष्ट्रिय खेल खेल्नका लागि महानगरपालिकाबाट खेलाडी उत्पादन भएका छन् । कार्यक्रममा वडा २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले धारणा राख्नुभयो । महानगरपालिकाभित्र यस्ता मैदान ठाउँ ठाउँमा बनाउनु पर्छ । प्रतियोगितामा टीमहरुलाई ती फरक मैदानमा प्रतिस्पर्धा गराउनु पर्छ । यसले महानगरपालिकाका सबै ठाउँमा खेलको प्रभाव समान वितरण हुन्छ । महर्जनले धारणा राख्नुभयो र

लैनचौर फुटसल खेलाडी उत्पादन गर्ने ठाउँ हो । यसलाई सुुधार गरेर थप व्यवस्थित बनाउने योजना छ । वडा २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले योजना सुनाउनुभयो ।

को हुन्? प्रयागराज सिंह सुवाल
स्व. प्रयागराज सिंह सुवाल, २०१० सालमा भएको काठमाडौँ नगरपालिकाको पहिलो निर्वाचनमा उपसभापति पदमा निर्वाचत हुनुभएको थियो । सभापति जनकमान श्रेष्ठ हुनुहुन्थ्यो । कम्युनिष्ट पार्टी भएकाले जनकमानलाई अविश्वाशको प्रस्ताव ल्याएर हटाउने प्रयास भएको थियो । त्यसबेला नेपाली कांग्रेसको पार्टी सभापति विश्वेश्वरप्रसाद कोइराला हुनुहुन्थ्यो । पार्टी कार्यालय नयाँ सडकमा थियो । जनकमानलाई अविश्वाशको प्रस्ताव राखेपछि वि. पि. ले सुवाललाई पार्टी कार्यालयमा बोलाएर, सभापति हुने प्रस्ताव राख्नुभएको थियो । वि. पी. को यो प्रस्ताव सुवालले अस्वीकार गर्नुभयो । फेरि वि. पि. ले भोलिसम्म सोचेर आउन भन्नुभयो । भोलिपल्ट गएर सुवालले हुन्न भन्नुभयो ।

केन्द्रसँग समन्वय नगरेको आरोपमा जनकमान श्रेष्ठलाई सभापति पदबाट हटाएर जेल पठाइयो । यसबेला श्रेष्ठलाई समर्थन गर्दै सुवाल पनि जेल जानुभएको थियो । यसबेला पीएन राणा, अमिरमान श्रेष्ठसहित सदस्यलाई पक्राउ गरेर भद्रगोल जेल पठाइएको थियो ।

२०१४ सालमा भएको निर्वाचनमा सुवाल नगरपालिकाको सभापति पदमा निर्वाचित हुनुभयो । त्यसबेला उहाँले बसन्तपुर गद्दी बैठक अगाडि डवली छेउमा, नयाँ सडकमा, वीर अस्प्तालको छेउमा सार्वजनिक शौचालय बनाउनु भएको थियो । २०१७ सालमा व्यवस्था परिवर्तन गरेर पञ्चायत व्यवस्था थालनीसँगै उहाँलाई पक्राउ गरेर नख्खु जेलमा राखियो । जेलमा बस्दा बस्दै उहाँले स्नातक तह उत्तीर्ण गर्नुभयो ।

२०३१ सालमा सुवाल निर्माण तथा यातायात मन्त्री हुनुभयो । त्यसबेला कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुनुहुन्थ्यो । काठमाडौँको चक्रपथ, काठमाडौँदेखि सूर्यविनायकसम्मको ट्रलीबस उहाँकै पालामा सञ्चालन थालिएको हो ।

तस्विर : विनय शाक्य

प्रतिक्रिया दिनुहोस्