काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जित्दै एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन्।
एमाले तनहुँले दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एउटा निर्वाचनमा पराजित हुँदैमा पार्टीको राजनीतिक भविष्य समाप्त नहुने बताए। निर्वाचनको परिणामलाई आत्मसमीक्षाको अवसरका रूपमा लिएर पार्टीलाई थप सशक्त र बलियो बनाउने उनको भनाइ थियो।
पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्तालाई पुनः जोड्न नेता तथा कार्यकर्ता एकताबद्ध भएर संगठन सुदृढीकरणमा लाग्नुपर्ने उनले बताए।
कार्यक्रममा एमाले सचिव खगराज अधिकारीले पार्टीभित्र गुटबन्दी स्वीकार्य नहुने बताउँदै संगठनको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। केन्द्रीय सदस्य भगवती न्यौपानेले पनि निर्वाचन परिणामबाट निराश नभई पार्टीलाई व्यवस्थित र सुदृढ बनाउन सक्रिय हुन कार्यकर्तालाई आग्रह गरिन्।

















प्रतिक्रिया