Logo

बालेनले दिए राष्ट्रपतिलाई धन्यवाद: कुमारीको दर्शन तथा रथयात्राका लागि राष्ट्रपति रामचन्द्र पौडेलसहित सबै विशिष्ठ व्यक्तित्वहरु जुद्ध शालिकबाट हिँडेर

काठमाडौँ – कुमारीको दर्शन तथा रथयात्राका लागि राष्ट्रपति रामचन्द्र पौडेलसहित सबै विशिष्ठ व्यक्तित्वहरु जुद्ध शालिकबाट हिँडेर गद्दी बैठक पुग्नुभयो । विश्व सम्पदा क्षेत्रको गरिमा बचाउन काठमाडौँ महानगरपालिकाले बसन्तपुरलाई सवारी साधन प्रवेश गरेको छ । महानगरपालिकाको निर्णय कार्यान्वयन गर्दै राष्ट्रपति हिँड्नु भएको हो । उहाँलाई उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कुमारी घर लैजानुभएको थियो । कुमारी घरमा प्रमुख बालेन्द्र (बालेन) ले स्वागत गर्नुभएको थियो । यसपछि गद्दी बैठक पुर्‍याइएको थियो ।

विशिष्ट व्यक्तित्वहरुलाई स्वागत गर्ने क्रममा उपराष्ट्रपति रामसहाय यादवलाई सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र हनुमान ढोका दरबार संरक्षण समितिका संयोजक बिनोद राजभण्डारीले स्वागत गर्नुभएको थियो । यस्तै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई वडा नंं २० का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले स्वागत गर्नुभएको थियो । प्रतिनिधि सभाका सभामुख देवेन्द्र घिमिरेलाई शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले स्वागत गर्नुभएको थियो ।

यस्तै अख्तियार दुृरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई पनि कोइरालाले स्वागत गर्नुभएको थियो ।

इन्द्रजात्रामा आउने विशिष्ट अतिथिहरुलाई जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरेको यो पहिलो पटक हो ।

गद्दी बैठकबाट जात्रा अवलोकन गर्न यस बर्ष ७८ जनाका लागि ठाउँको व्यवस्था गरिएको थियो । उहाँहरुलाई गृह मन्त्रालयले निमन्त्रणा पठाएको थियो ।

विशिष्ट अतिथिहरुले गद्दी बैठकबाट यँया (इन्द्रजात्रा) अवलोकन गर्नुभएको थियो ।

जात्रा अवलोकनका लागि अन्तरराष्ट्रिय नगरहरुबाट २० जना प्रतिनिधि आउनु भएको छ । यस्तै भगिनी सम्बन्ध भएका देशभित्रकै सहरहरुबाट पनि प्रमुख, उपप्रमुखसहित प्रतिनिधिहरु आउनुभएको छ । उहाँहरुलाई माजु देगः मा राखेर जात्रा अवलोकन गर्ने व्यवस्था मिलाइएको थियो ।

काठमाडौँ महानगरसँग देशभित्रका ५ वटा नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भइसकेको र २ वटा पालिकासँग सम्बन्ध स्थापना गर्ने निर्णय भइसकेको छ । सम्झौता गरेर सम्बन्ध स्थापना भइसकेका पालिकाहरुमा कोशी प्रदेश, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका, बागमती प्रदेश, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, नगरपालिका, लुम्बिनी प्रदेशको नवलपरासी वर्दाघाट पश्चिमको रामग्राम नगरपालिका, कर्णाली प्रदेश, जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका र सुदुुरपश्चिम प्रदेश, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका हुन् । मधेस प्रदेश, बारा जिल्लाको सिमरा नगरपालिका र गण्डकी प्रदेश, मनाङ् जिल्लाको डिस्¥याङ् गाउँपालिकासँग सम्बन्ध स्थापना गर्ने सम्बन्धमा निर्णय भइसकेको छ । सम्झौता हुन बाँकी छ ।

अन्तरराष्ट्रिय स्तरमा १६ वटा नगरसँग भगिनी सम्बन्ध छ । यसरी सम्बन्ध गाँसिएका नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन् । काठमाडौँ महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ ।

यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।

यस बर्षको सांस्कृतिक तालिका

यस बर्ष असोज ६ गते विहान १० बजेर ३९ मिनेटमा लिङ्गोलाई नगर प्रवेश गराइएको हो । ९ गते विहान १० बजेर ३७ मिनेटमा इन्द्रध्वजोत्थान भएको थियो । आज तल्लो टोलमा रथ यात्रा भएको छ । तल्लो टोल अर्थात (वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुर) मा रथ यात्रा भएको हो । भोलि माथिल्लो टोलमा माथिल्लो टोल (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर) मा रथ यात्रा हुनेछ । असोज १५ गते सोमबार नानिचा यात्रा हुनेछ । सोही दिन साँझ ८ बजेर १५ मिनेटको साइतमा इन्द्रध्वज पतन गराएपछि यस बर्षका लागि इन्द्रजात्रा समापन हुनेछ ।

आश्विन १५ गते नानिचाका दिन (बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर) रथयात्रा हुनेछ । यसदिन महिलाहरुले रथ तान्नेछन् । २०६९ सालबाट यस दिनको रथ महिलाहरुले तान्न थालेका हुन् । यसै दिन श्रीहरुको हातबाट राष्ट्रपतिले टीका ग्रहण गर्ने कार्यक्रम हुनेछ । यसै दिन राष्ट्र प्रमुख र कुमारी विच खड्ग साट्ने चलन छ । यस दिन बेलुका ८ बजेर ३७ मिनेटमा इन्द्रध्वज पतन गर्ने साइत छ । इन्द्रध्वज ढालिएसँगै यस बर्षका लागि इन्द्र जात्राका कार्यक्रम सकिनेछन् ।

यसरी ३ दिन हुने रथ यात्राका क्रममा पर्ने रुटहरुमा श्री लाखे आजु, श्री पुलुकिसी र श्री हलचोक आकास भैरव सँगसँगै अगाडि पछाडि सहभागी हुन्छन् । रथयात्रा रुटका स्थानीयले जीवित देवीदेवताको श्रद्धापूर्वक पूजा आजा गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्