Logo

सर्वोच्चको आदेशपछि रिगल पक्राउ

अनलाइन टिभी नेपाल काठमाडौं, सर्वोच्च अदालतको परमादेशसँगै याेगराज ढकाल (रिगल) पक्राउ परेका छन् । नेपालगन्जको प्रेम हलनजिकैबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । उनलाई जेल चलान गर्न लागिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले उनको ६० प्रतिशत कैद कट्टा गर्ने निर्णय गरेकोमा सर्वोच्चले त्यसलाई बिहीबार खारेज गरेको हो। चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेकाे अभियोगमा ढकाललाई जन्मकैद सजाय भएकोमा सरकारको सिफारिसमा राष्ट्रपतिले गत ३ असोजको संविधान दिवसमा ६० प्रतिशत कैद कट्टा गरी छाड्ने निर्णय भएको थियो। सोही सुविधा पाई उनी छुटेका थिए। त्यसविरुद्ध चेतनकी श्रीमती भारती शेर्पाले दायर गरेको रिटमा सर्वोच्चले यस्तो कार्य संविधानविपरीत भएको फैसला सुनाएको हो। यसरी कैद कट्टा गरी जेलमुक्त गर्ने निर्णयले अपराधको राजनीतीकरण मौलाउने ठहर सर्वोच्च गरेको छ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुँडालको इजलासको आदेशमा भनिएको छ, ‘अपराधको राजनीतीकरण गर्ने प्रवृत्तिहरू पनि यस्तै प्रकारका व्यवहार र कार्यशैलीको धरातमा पैद हुने र मौलाउने गर्दछन्। स्वेच्छाचारिता पैदा हुने प्रकृतिका व्यवहारहरूमा नियन्त्रण र सुधार गर्दै गएमा नै कानुनको साख कायम राख्न योगदान प्राप्त हुन्छ।’
सो कैद कट्टा संविधानको मर्मविपरीत भएको भन्दै तत्कालै उनलाई पक्राउ गरी थुनामा राख्न भनेको छ। यसरी कैद कट्टा गर्दा पीडित पक्षको सहमति अनिवार्य रूपमा लिन सर्वोच्चले परमादेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्