Logo

१० वर्षपछि बंगलादेशसँग बदला लिने नेपालको सपना अपुरै, सन्दीप बने टी–२० आईमा सर्वाधिक छिटो १०० विकेट पुरा गर्ने विश्वकै दोस्रो खेलाडी

काठमाडौं– १० वर्षपछि बंगलादेशसँग बदला लिने नेपालको सपना अधुरो भएको छ । १० वर्षपछि विश्वकपको मैदानमा बंगलादेशसँग आमनेसामने भएको नेपाल २१ रनले पराजित भएपछि नेपालको सपना अधुरै भएको हो । वेस्ट इन्डिजको अर्नोस भाले रंगशालामा आइतबार राती अर्थात् नेपाली समयअनुसार सोमबार भएको आईसीसी टी–२० विश्वकप २०२४ को समुह चरणको अन्तिम खेलमा नेपाल २१ रनले पराजित भएको हो ।

यो सँगै नेपाल २०२४ को टी२० विश्वकपमा जित विहीन हुँदै बाहिरिएको छ । बंगलादेश भने ४ खेलमा ६ अंक जोड्दै समूह डी बाट दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । नेपाल र बङ्गलादेशबिच यसअघि सन् २०१४ को टी–२० विश्वकपमा भेट भएको थियो । त्यतिबेला नेपाल आयोजक बङ्गलादेशसँग आठ विकेटले पराजित भएको थियो । त्यसको जवाफ नेपालले दिने अपेक्षा गरिएपनि नतिजा सोचे अनुरुप आउन सकेन ।

सोमबार टस जितेर फिल्डिङ रोजेको नेपालले बलिङमा बङ्गलादेश विरुद्ध राम्रो प्रदर्शन गरेको थियो । तर, ब्याटिङमा खराब प्रदर्शन गर्दै २१ रनले हार व्यहोर्नुपरेको हो।

१०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका लागि कुशल मल्लले ४० बलमा १ चौका र १ छक्कासहित २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३१ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए ।

ओपनर आसिफ शेखले १४ बलमा ४ चौकासहित १७, कुशल भुर्तेल ४, अनिल साह शून्य, रोहित पौडेल र सन्दीप जोरा १–१ रनमा आउट भए ।

एक समय नेपाल ७ ओभरमा २६–५ को अवस्थामा पुगेको थियो । दीपेन्द्र र कुशल मल्लले छैटौं विकेटका लागि ५८ बलमा ५२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

नेपाललाई अन्तिम १२ बलमा जितको लागि २२ रन चाहिँएको थियो । १९ औं ओभरमा मुश्ताफिजुर रहमानले दीपेन्द्रलाई आउट गर्दै मेडन ओभर राखेका थिए । गुलशन झा, सोमपाल कामी र अभिनाश बोहरा शून्यमा आउट हुँदा १९.२ ओभरमा अल आउट हुन पुग्यो ।

बंगलादेशका तान्जिम हसनले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । सकिब अल हसनले २ र तस्किन अहमदले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९.३ ओभरमा १०६ रनमा अल आउट भएको थियो । बंगलादेशका लागि सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन जोडे ।

ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दिप लामिछानेले समान २ विकेट लिए । कप्तान रोहितले ४ ओभरमा २० रन खर्चिए । सन्दिपले ४ ओभरमा १ मेडन सहित १७ रन दिए । यस्तै कुशल भुर्तेलले भने ४ ओभरमा २२ रन दिएर कुनै विकेट लिएनन् । १९औं ओभरमा बलिङ गरेका अविनाश बोहोराले १ ओभरमा १० रन खर्चिए ।
योसँगै बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सुपर ८ मा पुगेको छ । नेपाल ४ खेलमा १ अंकका साथ चौथो स्थानमा रहेर बाहिरिएको छ ।

यसअघि नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । वर्षाका कारण श्रीलंकासँगको खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो ।

नेपालले हार व्यहोरेपनि लेग स्पिनर सन्दीप लामिछानेले टी–२० आईमा सय विकेट पुरा गरेका छन् । उनले ५२ खेलमा ९८ विकेट पुरा गरेका थिए । शनिबार दक्षिण अफ्रिकासँग भएको खेलमा कुनै विकेट लिन नसकेका उनले आजको खेलमा दुई विकेट लिँदै सय विकेट पुरा गरेका हुन् ।

सन्दीपले बंगलादेशविरुद्ध चौधौँ ओभरको दोस्रो बलमा तान्जिम अल हसनलाई ३ रन बनाउँदा बोल्ड आउट गराएका थिए । सोह्रौँ ओभरमा १६ औँ ओभरको तेस्रो बलमा बंगलादेशका जाकर अलीको विकेट लिँदै सन्दीपले सय विकेट पूरा गरे । यो सँगै टी–२० आईमा सबैभन्दा छिटो १ सय विकेट लिने सन्दीप विश्वका दोस्रो खेलाडी बनेका छन् । उनले ५४ इनिङमा एक सय विकेट पुरा गरेका हुन् । यसअघि अफगानस्तानका रासिद खानले ५३ खेलमा १ सय विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्