Logo

विश्वकपको सुपर–८ खेल्ने सबै टोलीको टुङ्गो, बिहिबारबाट खेल सुरु हुने

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ खेल्ने सबै टोलीको टुङ्गो लागेको छ । सुपर ८ को ग्रुप–१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप–२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइन्डिज र दक्षिण अफ्रिका परेका छन् ।

२० देश सम्मिलित जारी विश्वकपमा चार समूहमा विभाजन गरिएको थियो। पाँच देश रहेको समूहबाट दुई÷दुई टोलीले सुपर ८ का लागि स्थान सुरक्षित गरेका हुन् ।

समूह ए बाट भारत र अमेरिका अन्तिम आठमा प्रवेश गरेका छन्। भारत ७ अंकसहित समूहको शीर्षस्थानमा रहेर अन्तिम आठमा प्रवेश गरेको छ भने दोस्रो स्थानमा अमेरिका ५ अंक जोड्दै अन्तिम आठमा प्रवेश गरेको हो। समूह ए बाट पाकिस्तान, क्यानडा र आयरल्याण्ड बाहिरिएका छन्।

समूह ‘बी’ बाट चारै खेल जितेर ८ अंकसहित शीर्षस्थान कायम गर्दै अस्ट्रेलिया अन्तिम आठमा प्रवेश गरेको छ। इंगल्याण्ड दोस्रो स्थान कायम गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । समूह ‘बी’ बाट स्कटल्यान्ड, नामिबिया र ओमान बाहिरिएका छन् ।

समूह सी को अन्तिम खेल बाँकी छँदै सुपर–८ मा पुग्ने देशको टुंगो लागिसकेको छ। सो समूहबाट ६–६ अंक सहित अफगानिस्तान र वेस्ट इण्डिज सुपर–८ मा पुग्ने टुङ्गो लागेको हो ।

यी दुई देशबीच समूह चरणकै अन्तिम खेल हुन बाँकी छ। जित्ने टोली समूहको शीर्ष स्थान र पराजित हुने टोली दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछन्। समूह सी बाट न्युजियल्याण्ड, युगान्डा र पपुवा न्युगिनी भने बाहिरि सकेका छन्।

नेपाल रहेको समूह ‘डी’बाट दक्षिण अफ्रिका र बंगलादेश अन्तिम आठमा प्रवेश गरेका छन्। दक्षिण अफ्रिका समूह चरणमा अपराजित हुँदै ८ अंक जोडेर अन्तिम आठमा प्रवेश गरेको छ। बंगलादेश तीन जित निकालेर ६ अंक जोडेको छ । समूह डी बाट नेपाल, श्रीलंका र नेदरल्याण्ड्स बाहिरिएको छ।

सुपर ८ को खेल बिहीबारदेखि सुरू हुनेछ। पहिलो खेलमा वेस्ट इन्डिज र इंगल्यान्ड तथा दोस्रो खेलमा भारत र अफगानिस्तान खेल्नेछन्। अन्तिम आठको खेल सकिएपछि जुन २७ मा सेमिफाइनल र जुन २९ मा फाइनल खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस्