Logo

फ्यानलाई सोमपाल भन्छन्, ‘तपाईहरुलाई हामीसँग निराश हुने हक छ, हामी फेरि त्यहाँ पुग्ने छौँ’

काठमाडौं– क्रिकेटर सोमपाल कामीले शुभचिन्तकलाई निराश हुने हक रहेको बताएका छन् । आइसिसी टि–२० विश्वकपको समुह चरणबाट नेपाल बाहिरिएपछि शुभचिन्तकले नेपाली टोलीसँग निराश हुन पाउने हक रहेको बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अर्को विश्वकप खेल्नको लागि कडा मेहनत गर्ने समेत बताएका छन् । नेपालले हरेक विश्वकपमा खेलेको हेर्नु आफ्नो सपना रहेको उनले लेखेका छन् ।

उनले लेखेका छन्, ‘म त्यो केटो थिए जसले मेरो देशलाई उच्च तहमा प्रतिनिधिन्व गर्ने सपना देख्थेँ । मैले त्यो गरेँ पनि । एक पटक मात्र होइन मैले जिवनमा दुई पटक गरेँ । दश वर्षअघि केटो भएर देशलाई प्रतिनिधित्व गरे भने यो पटक एउटा पुरुष भएर गरेँ । म यसरीनै जीवनभर गरिरहन चाहन्छु पनि । म नेपालले अबदेखि हरेक विश्वकपमा खेलेको हेर्न चाहन्छु ।’ नेपाललका लागि खेल्दा जस्तो भावना बराबर अरु कुनै भावना नरहेको उनले बताएका छन् । उनले भनेका छन्, ‘मलाई आफुमा विश्वास छ । मलाई मेरो टिम र टिममेटमा विश्वास छ । मलाई प्रशिक्षकमा विश्वास छ । मलाई व्यवस्थापकमा विश्वास छ । मलाई विश्वास गर्ने तपाईहरुमा विश्वास छ ।’

विश्वकप खेल्दा धेरै अनुभव बटुलेको उनले बताएका छन् । उनले लेखेका छन्, ‘विश्वकपमा छनोट हुन गरेको मेहेनतदेखि विश्वकपमा टेष्ट राष्ट्रलाई लभगभ हराउँदै गर्दा हामीले लामो यात्रा गरेका छौँ । यदि यहि प्रगतिलाई निरन्तरता दिने हो भने हाम्रो मेहेनत र कडा परिश्रमले एकदिन नतिजा हाम्रो पक्षमा आउनेछ । यसको लागि म मेरो तर्फको कडा परिश्रम गर्न, सुध्रन र नयाँ कुरा सिक्ने कामलाई निरन्तरता दिन तयार छु ।’

उनले नेपाल विश्वकपबाट बाहिरिँदा फ्यानहरु निराश हुनु स्वभाविक रहेको बताएका छन् । उनले लेखेका छन्, ‘तपाईहरुको अनुहारमा मुस्कान देख्न पाउनु मेरोलागि सबैभन्दा खुसीको कुरा हो । तपाईलाई हामीसँग निराश हुन पाउने हरेक अधिकार छ । तर हामी फेरि अघि बढ्ने छौँ । हामी फेरि बन्ने छौँ । फेरि हामी त्यहाँ पुग्नेछौँ । यो गन्तव्यको कुरा मात्र होइन यो यात्राको कुरा हो । यात्रा अघि बढि रहन्छ । म पनि अघि बढ्नुपर्छ । हामी पनि अघि बढ्नु पर्छ । वास्तवमा म फेरि केटो भएको महसुस गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस्