Logo

सुपर–८ मा वेस्ट इन्डिजमाथि इङ्ल्यान्डको सानदार जीत

काठमाडौं– आइसिसी टि–२० विश्वकपको सुपर–८ चरणमा इङ्ल्यान्डले वेस्ट इन्डिज माथि सानदार जीत निकालेको छ । बिहीबार बिहान भएको खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले इङ्ल्यान्डलाई १८१ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा इङ्ल्याण्डले १५ बल बाँकी छँदै २ विकेटमात्र गुमाएर लक्ष्य भेटायो । इङ्ल्यान्डका ओपनर फिल साल्ट ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै ८७ रनमा अविजित रहे । जोन्नी बेयर्सटो पनि २६ बलमा ५ चौका र २ छक्का सहित ४८ रनमा नटआउट रहे ।

अर्का ओपनर जस बटलरले २५ तथा मोइन अलीले १३ रन बनाए । वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेजले १–१ विकेट लिएका थिए ।

त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले ३४ बलमा बनाएको ३८ रन नै सर्वाधिक रहेको थियो ।

कप्तान निकोलस पुरनले ३२ बलमा ३६ रन बनाएका थिए भने रोभ्मन पावेलले १७ बलमा ३६ रन बनाएका थिए । शेरफान रदरफोर्डले २८ तथा ब्रेन्डन किंगले २३ रन जोडे ।

इङ्ल्यान्डका जोफ्रा आर्चर, आदील राशिद, मोइन अली र लियाम लिभिङस्टनले समान १–१ विकेट लिए ।

इङ्ल्यान्डले सुपर एटको दोस्रो खेल दक्षिण अफ्रिका विरुद्ध शुक्रबार खेल्नेछ भने वेस्ट इन्डिजको दोस्रो खेल अमेरिका विरुद्ध शुक्रबार राती नै हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्