Logo

५७ वर्षअघि सडकमुनि पुरिएको भैरव निकाल्यो महानगरले

default

 

नक्सालस्थित सडकमुनि पुरिएको भैरव महानगरले खुला गरेको छ। काठमाडौँ महानगरपालिका-१, नक्साल भगवती मन्दिरबाट नागपोखरी जाँदा कालोपत्रे सडकको मध्य भागमा कमलको आसनमा रहेको भैरव स्वरूपको शिवलिंग महानगरले खुला गरेको हो। वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठका अनुसार उत्खननक्रममा भेटिएका सिक्का तथा चुरा अध्ययनका लागि वडाले राखेको छ। खाडल, इँटाको गारो अनि गारो बीचका खोपाहरूले प्राचीनकालमा यी भैरवको स्थापना भएको झल्काउँछ। तर यसको स्थापना, धार्मिक, सामाजिक सम्बन्धका विषयमा लेख, अभिलेख, शिलालेख, तस्बिर जस्ता कुनै प्रमाण भने नभएको वडा सदस्य रसला तण्डुकार बताउँछन्।

‘लिखित प्रमाण नभए पनि विभिन्न ठाउँका देवीदेवताको सम्बन्ध यी भैरवसँग छ। गत जेठ ३ र ४ गते यहाँ पचली भैरवको नाच यही ठाउँमा नचाइएको थियो। टेकुको पचली भैरवको जात्रा पनि यहाँ धुमधाम मनाइन्छ,’ रसलाले भनिन्, ‘पचलीको नाच नक्सालमा नचाउनुको धार्मिक, सांस्कृतिक र सामाजिक कारण खोज्ने हो भने अरू पनि लुकेका कारण खुल्न सक्छन्।’ स्थानीय विक्रमदास मानन्धरका अनुसार २०२४ सालतिर यसलाई पुरिएको थियो। पुर्नुअघि भैरवलाई चारैतर्फ ढुंगाका थामले संरक्षण गरेर राखिएको थियो। सहरीकरणसँगै सडक साँघुरो हुन थालेपछि खाडलमा स्ल्याब राखेर पुरियो।

‘पुरिएको ठाउँमा सानो प्वाल राखिएको थियो जहाँबाट मानिसहरू सिक्का चढाई भगवानप्रति श्रद्धा अर्पण गर्थे,’ उनले भने। यो भैरव खुला भएको देख्न पाउँदा स्थानीयहरू खुसी छन्। अर्का एक स्थानीयले खुसी साट्दै भने, ‘बाल्यकालमा यो भैरव वरपर हामी निकै खेल्थ्यौ। यत्तिका वर्षपछि फेरि देख्न पाइन्छ भन्ने सोचेको पनि थिइनँ। पूर्ववडाध्यक्ष किरण श्रेष्ठका अनुसार शंकराचार्य र अमर वाणाको तान्त्रिक युद्धको जनश्रुतिमा यो भैरव आधारित छ। शंकराचार्य र वाणाको तान्त्रिक युद्धमा वाणाले शंकराचार्यका ४ सय गण मारेको थिए। यहाँ गाडिएका ४ ढुंगे खम्बामध्ये हरेकलाई १ सय शंकराचार्य गणका प्रतीक मानिन्छ।

 

प्रतिक्रिया दिनुहोस्