Logo

टि–२० सुपर ८: अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश

काठमाडौं– अमेरिकालाई हराउँदै आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्ल्यान्ड प्रवेश गरेको छ । सुपर–८ अन्तर्गत ब्रिजटाउनमा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराएको हो ।

सुपर– ८ को समूह ‘बी’ मा रहेको इङ्ल्यान्डको तीन खेलबाट चार अङ्क बनाएको छ । इङ्ल्यान्डले दुई खेलबाट समान चार अङ्क बनाएको दक्षिण अफ्रिका र दुई अङ्क बनाएको वेस्ट इन्डिजलाई रनरेटमा पछि पारेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितका लागि अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमा बिनाविकटेको क्षतिमा पूरा गरेको थियो । इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले अविजित ८३ रन बनाए । उनले ३८ बलमा ६ चौका र सात छक्काको उक्त रन बनाएका हुन् । फिल साल्टले अविजित २५ रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले १८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक ३० रन बनाए । यस्तै कोरी एन्डरसनले २९, मर्मित सिंहले २१, स्टिभन टेलरले १२ र कप्तान आरोन जोन्सले १० रन बनाएका थिए ।

बलिङमा इङ्ल्यान्डका चेरिस जोडर्नले चार विकेट लिए । साम कुरन र अदिल रशिदले दुई दुई तथा रिसी टोप्ले र लिभ लिभिङस्टोनले एक एक विकेट लिए ।
इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोली पनि बनेको छ । यस समूहबाट सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिचको खेलले निर्धारण गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्