Logo

आइसिसी टि–२० सेमिफाइनलमा पानी परे इङ्ल्यान्डलाई घाटा, भारत फाइनलमा जान सक्ने

काठमाडौं– टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा आज ईंग्ल्यान्डले भारतको सामना गर्दैछ । वेस्ट इन्डिजको गुयनास्थित प्रोभिडेन्स रंगशालामा खेल बिहान १०ः३० बजे अर्थात् नेपाली समयअनुसार ८ः१५ बजे सुरु हुनेछ । तर उक्त खेललाई वर्षाले बिथोल्न सक्ने खतरा रहेको मौसम पूर्वानुमान गरिएको छ ।

यस क्षेत्रमा दुई दिनदेखि लगातार वर्षात् भइरहेको छ । मौसमसम्बन्धी पूर्वानुमानहरूले विश्वकप सेमिफाइनलका बेला पनि पानी पर्ने उच्च सम्भावना औंल्याएका छन् ।

स्थानीय समयअनुसार २७ तारिख बिहान गुयनामा अलिकति आकाश खुल्ने तर वर्षात् पनि हुने पूर्वनुमान गरिएको छ । दिउँसो हावाहुरीसहित अझै सघन वर्षात हुनेछ । मौसमपूर्वानुमानअनुसार आज वर्षातको सम्भावना ९० प्रतिशत छ । ६१ प्रतिशत आकाश बादलले ढाकिनेछ भने भिजिविलिटी ६ किलोमिटर मात्र हुनेछ । यस्तै, पूर्व दिशाबाट ७ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चल्ने तथा २० किलोमिटर प्रतिघन्टाको दरमा हुरी पनि चल्न सक्ने जनाइएको छ ।

यसअघि सुपर ८ मा दुवै टीमबीच कम्तीमा ५–५ ओभरको खेल सम्भव भएमा नतिजा आउन सक्थ्यो । तर, सेमिफाइनलमा नतिजा आउन दुवै टीमले कम्तीमा १०–१० ओभर खेल्नुपर्छ । यदि वर्षातले निर्धारित समयमा खेल सुरू हुन सकेन भने २५० मिनेटसम्म तन्काउन सकिने गरी व्यवस्था मिलाइएको छ । अर्थात् यदि २:४० बजेसम्ममा खेल सुरू हुन सक्यो भने ओभर घटाउनु पर्दैन । त्योभन्दा पनि ढिलाइ भएको खण्डमा चाहीँ ओभर घटाउनुपर्छ ।

तर वर्षाका कारणले १०–१० ओभरको खेल पनि हुन सकेन भने भारत सीधै फाइनलमा पुग्नेछ । खेल रद्द भएको खण्डमा सुपर ८ मा आफ्नो समूहमा पहिलो हुने टीम फाइनलमा पुग्ने प्रावधान छ । त्यसैले यदि वर्षातले खेल विथोलिएको खण्डमा भारतलाई फाइदा छ । यदि खेल बराबरीमा टुंगियो र सुपर ओभरबाट पनि नतिजा आएन भने पनि भारत नै फाइनलमा जान्छ ।

प्रतिक्रिया दिनुहोस्