Logo

बेनी–जोमसोम सडक खण्डमा बाढीपहिरोको जोखिम,यात्रा नगर्न अनुरोध

 

 

 

काठमाडौँ – बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातिको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेका छन् । वर्षाको समयमा हुनसक्ने सवारी दुर्घटनालाई मध्यनजर गर्दै रातिको समयमा यात्रा नगर्न अनुरोध गरिएका हुन् ।

राति यात्रा गर्दा बाढीपहिरोमा परिने र उद्धारमा समस्या हुने भएकाले यात्रा नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताएका छन् । सडकखण्डको म्याग्दी क्षेत्रमा जोखिमपूर्ण स्थानमा सूचनाबोर्ड राखिने उनले जानकारी दिएका हुन् । रातको समयमा यात्रा निकै जोखिमपूर्ण रहेको छ, बाढी पहिरो ग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौँ, ट्राफिक प्रहरीलाई समेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ”, प्रजिअ ढकालले भनेका छन् । सडकको अवस्था हेरेर यात्रा गर्न सहजीकरण गरिने प्रजिअ ढकालको भनाइ रहेको छ । मङ्गलबार रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरोले इको भ्यानमा क्षति पुगेको थियो भने तीन जना यात्रुलाई सकुसल उद्धार गरिएको थियो । सडकखण्ड अन्तर्गत म्याग्दी क्षेत्रमा करिब ६ स्थानमा सूचना बोर्ड राखिने छ भने उत्तरी म्याग्दी र मुस्ताङतर्फ साँझमा यात्रा गर्नेलाई पहिरोस्थलका बारेमा जानकारी दिने गरी बेनी, गलेश्वर, भुरुङ तातोपानी र दाना क्षेत्रमा प्रहरी खटाइने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डमा ३५ साना ठुला पहिरा रहेका छन् । तीमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइँठे पहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ रहेका आयोजनाले बताएको छ । गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभीर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा रु ७० करोडभन्दा बढी खर्च हुने बताइएको छ ।

यसैगरी जिल्लाका ग्रामीण क्षेत्र जोड्ने सडक खण्डमा बाढीपहिरोका कारण सवारी आवागमनमा पर्ने असर, सवारी चालक र यात्रुलाई विपद्बाट हुनसक्ने क्षति, वर्षाको समयमा हुनसक्ने सम्भावित यात्राको जोखिम र सुरक्षित रहन चालक र यात्रुले अवलम्बन गर्नुपर्ने सुरक्षाका उपाय साथै सडकको अवस्थाबारे जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न चेतनामूलक कार्यक्रम समेत गर्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्