जङ्गलमा च्याउ खोज्न जाने क्रममा बाघको आक्रमण, तीनजना घाइते

720
Shares

दाङ– दाङमा बाघको आक्रमणमा परी वनमा च्याउ खोज्न गएका तीन जना घाइते भएका छन्। सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर– ९ स्थित नव दुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका तीन महिला घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइतेहरूमा तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवाका ४५ वर्षीया कमला केसी, ५२ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी छन्।

केसीको दुवै हात, सीताको ढाड र पेट तथा सरिताको दायाँ हातमा चोट लागेको छ।

उनीहरु तीनै जनाको तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तीनै जनाको स्वास्थ्य सामान्य छ। आक्रमण गर्ने बाघ नै हो कि चितुवा हो भन्नेबारेमा थप सोधखोज र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।