Logo

नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्दी, उद्धार गरिदिन आग्रह

बाँके– माइत जान भनेर हिँडेकी महिला भुटानमा बेचिएकी छिन् । बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् ।

घरबाट हिँडेको केही केही समयमै उनी सम्पर्कविहीन भइन् । श्रीमानले सम्पर्कबिहिन हुँदा सुरुमा त उनले माइतमै होलिन् सोते । तर श्रीमती सम्पर्कमै आइनन् । श्रीमती बेपत्ता भएपछि रोजगारीका लागि भारत पुगेका ठकुरी चार दिनमै घर फर्किए र श्रीमति र छोराको खोजी गर्न थाले ।

‘गत वैशाख ५ गते माइत जान्छु भनेर चार वर्षीय छोरासहित श्रीमती घरबाट निस्किएकी थिइन् । माइत पुगेर फोन गरिनन्, मैले गर्दा पनि सम्पर्क हुनसकेन । त्यतिबेला म रोजगारीका लागि भारत गएको थिएँ । श्रीमती सम्पर्कमा नआएपछि चार दिनमै घर फर्किएर बुझ्दा त श्रीमती र छोरालाई दलालले भुटान लगेर बेचिसकेका रहेछन्’, ठकुरीले भने।

राष्ट्रिय समाचार समिति (रासस)का अनुसार ठकुरीकी श्रीमती जेठानी दिदीसँग घरबाट निस्के पनि नजिकैको मदनचोक बजार पुगेपछि एकाएक सम्पर्कविहीन भएकी थिइन् । बुझ्दै जाँदा नेपालगञ्जकी रमिला विक नाम गरेकी एक महिलाले तीस हजार भारतीय रुपैयाँमा श्रीमती बेचबिखन गरेको थाहा पाएको ठकुरीले बताएका छन् ।

‘श्रीमती र छोराका बारेमा जानकारी प्राप्त गर्न हामीले फेसबुकमार्फत हराएको सूचना सार्वजनिक गरेका थियौँ । त्यही सूचनाको आधारमा भुटानमा गाडी चलाउने नेपाली सावारी चालक सुरज विकमार्फत खबर पाएपछि भुटानमा बेचिएको थाहा भयो’, उनले भने, ‘सामाजिक सञ्जालमा मेरो अन्तर्वार्ता र फोन नम्बर भेटेपछि उनले बन्दी बनाएर राखेको घर नजिकै श्रीमती र छोरालाई देखेको भनेर खबर गर्नुभएको थियो ।’

सामाजिक सञ्जालमा राखिएको तस्बिरअनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको ठकुरीले बताए। ‘उहाँलाई श्रीमतीले जतिसक्दो चाँडो उद्धारका लागि पहिल गरिदिन र छोराको स्वस्थ्य अवस्था पनि ठीक नभएको खबर गरेकी रहिछन्, त्यसयता उद्धारका लागि प्रहरी प्रशासनमा धाइरहेका छौँ तर जति प्रयास गर्दा पनि कुनै निकायबाट सहयोग पाएका छैनौँ’, उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्