सिमलतालको पहिरोमा तीन जनाले बसको झ्यालबाट हाम फालेर ज्यान जोगाए

360
Shares

काठमाडौं– नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा त्रिशूलीमा दुईवटा बसमध्ये एउटा बसबाट तीनजना यात्रुले ज्यान जोगाउन सफल भएका छन् । काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपती डिलक्स बसलाईबसमा सवारमध्ये ३ जना यात्रुले भने हाम फालेर आफ्नो ज्यान जोगाएका हुन् ।

रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जनाले पहिरोले बस बगाउन लाग्दा हाम्फालेर आफ्नोे ज्यान जोगाएका हुन् ।

उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्‍याइएको छ । ती यात्रुहरुले बस खस्न थालेपछि आफूहरु क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् ।

ती यात्रुका अनुसार क्याबिनमा चार जना पनि थिए । उनीहरुले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् । आज बिहान करिब साढे तीन बजेतिर वीरगञ्जबाट काठमाडौं आउँदै गरेको विङर गाडी र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस नदीमा खसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार बाट गएको गोताखोर सहितको टोलीले उद्धार कार्य सुरु गरेको छ । गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन ।