काठमाडौं– आज राती युरोकपको उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दैछन् । १७औं संस्करणको युरो कपको फाइनल आज राति पौने १ बजे बर्लिनमा हुँदैछ ।
नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको छ । उता फ्रान्सलाई हराउँदै स्पेन फाइनल पुगेको हो । जारी संस्करणमा टाईब्रेकर बाहेक इङ्ल्याण्डले ७ गोल गर्दा ४ गोल खाएको छ । फाइनलसम्म आउँदा स्पेनले ६ खेलमा १३ गोल गर्दा ३ गोलमात्र खाएको छ ।
यी दुई देशबीचको खेल रोचक हुने विश्वास गरिएको छ । किनभने ५८ वर्षयता कुनै ठूला उपाधी नजितेको इङल्यान्ड युरोकपको उपाधिका लागि भिड्दैछ । यसअघि इङ्ल्याण्डले सन् १९६६ मा घरेलु मैदानमा भएको फिफा विश्वकप जितेपछि अहिलेसम्म कुनै पनि ठूला उपाधि जित्न सकेको छैन । इङ्ल्याण्डका लागि फाइनल पुग्नु पनि ठूलो उपलब्धि मानिन्छ । ६ दशक लामो उपाधि खडेरी तोड्दै इङ्ल्याण्ड विश्व फुटबलमा आफ्नो उपस्थिति देखाउने लक्ष्यसहित आज मैदान उत्रदैछ । यसअघि २०२० मा सम्पन्न युरोकपमा इङल्यान्ड फाइनलमा इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।
स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ । युवा र अनुभवी खेलाडीको टिम रहेको स्पेनले तीन पटक युरो कपको उपाधि आफ्नो पोल्टोमा परेको छ ।
स्पेन र इङ्ल्यान्डबीच अहिलेसम्म २७ वटा खेल भएका छन् । जसमध्ये स्पेनले १० र इङ्ल्यान्डले १४ खेल जितेका छन् भने ३ खेल बराबरी खेलेका छन् ।
प्रतिक्रिया