नाइजेरियाली युवकले लगातार तीन दिन भिडियो गेम खेलेर राखे विश्व कीर्तिमान

576
Shares

एजेन्सी– २४ वर्षीय नाइजेरियाली युवकले लगातार तीन दिनभन्दा बढी समयसम्म फुटबल भिडियो गेम खेलेर विश्व कीर्तिमान राखेका छन् । ओसाइड ओलुवोले उर्फ ‘कोडेड’ ले ७५ घण्टाको समयसम्म मोबाइलमा फुटबल खेल खेल्दै सबैभन्दा लामो भिडियोगेम म्याराथन प्रदर्शन गरेका हुन् ।

उनले सन् २०२२ मा लगातार ५० घण्टा भिडियो गेम खेलेर डेभिड ह्वाइटफुटले बनाएको कीर्तिमान तोड्दै उनले नयाँ कीर्तिमान राखेका छन् ।

ओसाइड एक योग्य बायोकेमिस्ट हुन् । उनी कार डिलरको रूपमा काम गर्छन् । आफ्नो गृहनगर इजेबु ओडेको स्थानीय अस्पतालको लागि चन्दा उठाउन उनले सबैभन्दा लामो भिडियो गेम खेलेर विश्व कीर्तिमान बनाउने प्रयास गरेका थिए ।

सन् २०१० मा पहिलोपटक भिडियोगेम म्याराथुनको पहिलो किर्तीमानी राखिएको थियो । २४ घण्टाको समयमा भिडियो गेम खेलेर कीर्तिमान राखेकोमा त्यस रेकर्डलाई सात पटक तोडिएको छ । ११ वर्षमा सात पटक उक्त कीर्तिमान तोड्दै ५० घण्टासम्मको किर्तीमान बनेको थियो ।

अघिल्ला सात रेकर्ड राख्ने खेलाडीहरुले फिफा वा प्रो इभोलुसन फुटबल खेलेका थिए । तर ओसाइडले आफ्नो आईफोनमा मोबाइल गेम ड्रीम लीग सकर २०२४ खेले । उनको मोबाइल टिभी स्क्रिनमा कनेक्ट गरिएको थियो ।

उनले उक्त गेम २०१६ बाट खेल्न थालेका थिए । उनले विश्व कीर्तिमान राख्न ५०० भन्दा बढी खेल खेलेका छन् । उनले गिनिज वल्र्ड रेकर्डको नियमअनुसार हरेक एक घण्टामा पाँच मिनेट विश्राम लिन पाएका थिए । त्यही समयमा उनले खाने, शौचालय जाने र एकैछिन सुत्ने काम गरेका थिए । विश्व कीर्तिमान राखेपछि ७५ घण्टासम्म खेल्दा आफुलाई रमाइलो भएको उनले बताए ।