काठमाडौं– एसिया कपमा नेपाली महिला टोलीले पहिलोपटक जीत दर्ता गराएको छ । तेस्रो पटक एसिया कप खेलिरहेको नेपाली महिला टोलीले पहिलोपटक जीत आफ्नो नाममा गरेको हो ।
चीनमा आयोजना भएको एसिया कप २०१२ मा नेपाली महिला टोलीले पहिलोपटक खेलेको थियो । सन् २०१६ मा थाइल्यान्डमा भएको एसिया कपमा पनि नेपालले सहभागिता जनाएको थियो । २०–२० शृङ्खलाको उक्त दुबै संस्करणमा नेपाल कुनैपनि खेल नजित्दै बाहिरिएको थियो ।
आठ वर्षपछि एसिया कप खेलेको नेपाली महिला क्रिकेट टोलीले यस पटकभने सुखद् सुरुवात गरेको छ । श्रीलंकामा शुक्रबारबाट सुरु भएको एसिया कपको समुह चरणको पहिलो खेलमा नेपालले सफलता हात पारेको छ । नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै राम्रो सुरुवात गरेको हो ।
टस जितेर फिल्डिङ रोजेको नेपालले युएईलाई ११५ रनमा रोकेको थियो । नेपालले चार विकेट गुमाउँदै २३ बल बाँकी रहँदै लक्ष्य पुरा ग¥यो । नेपालका लागि सम्झना खड्काले अविजित रहँदै ११ चौकासहित सर्वाधिक ७२ रन बनाइन् । यस्तै रुविना क्षेत्रीले एक चौकासहित १० रन जोडिन् । नेपालका लागि अन्य व्याटरले भने दोहोरो अंक जोड्न सकेनन् । युएईको लागि कविसा एगोडेगले चार ओभरमा १२ रन खर्चेर तीन विकेट लिइन् ।
यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन जोड्दा यूएईका लागि छैटौँ नम्बरकी ब्याट्र खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् । यसैगरी पाँचौँ नम्बरकी ब्याट्र कविसा एगोडेगले पनि २२ रन बनाइन् । समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे । यूएईका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईले अतिरिक्त रुपमा केवल दुई रन पायो ।
नेपाली टोलीका लागि कप्तान इन्दू बर्माले तीन विकेट लिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक–एक विकेट हात पारे ।
समूह ‘ए’ मा रहेको नेपालले अब पाकिस्तान र भारतको सामना गर्ने छ । पाकिस्तानविरुद्ध जुलाई २१ मा र भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । समूह बीमा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड एक आपसमा भिड्दैछन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रतिक्रिया