Logo

घरमा बास बस्न आएका तीन जनाले पूर्वराज्यमन्त्रीको हत्या गरेको बयान

काठमाडौं– पूर्वराज्यमन्त्री रामचन्द्र रायको घरमा बास बस्ने वाहानामा आएर बसेका व्यक्तिले हत्या गरेको खुलेको छ । रायको घरमा काम गर्दै आएका कर्मचारीले छलफलको बहानामा आएर बसेका तीन जना मिलेर उनको हत्या प्रहरीसामु बयान दिएका छन् ।

उनले बेलुका अबेरतिर आएका तीन जनाले पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा विवाद मिलाइदिन अनुरोध गरेको बताएका छन् । उनका अनुसार राति अबेरसम्म पूर्वराज्यमन्त्री राय र उनीहरूबिच कुराकानी भइरहेको थियो । त्यसपछि पूर्वराज्यमन्त्री रायले नै आफूलाई सुत्नका लागि अर्कै कोठामा पठाएको रायको घरमा काम गर्ने २१ वर्षीय युवकले प्रहरीलाई वयान दिएका छन् ।

राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्रीसमेत रहेका ८० वर्षीय सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । घटनापछि सोधपुछका लागि रायकै घरमा काम गर्ने युवकलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । ती युवकले नै राति शौचालय जान निस्किँदा पूर्वराज्यमन्त्री राय सुत्ने कोठाको ढोका खुला देखेर हेर्दा शव देखेपछि आफन्तलाई खबर गरेका थिए ।

बेलुका आएर पूर्वराज्यमन्त्री रायको घरमा बसेका तीन जनालाई आफूले नचिनेको बताएका छन् । प्रहरीले घटनास्थल नजिकै बाँसको झ्याङ्गबाट धारिलो हतियार दाउ फेला पारेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्