गएरातीको वर्षाका कारण काठमाडौं डुबानमा, २६ जनाको उद्धार


काठमाडौं– भारी वर्षासँगै काठमाडौंका नदी तथा खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । गए राती परेको पानीबाट डुवानमा परेका क्षेत्रबाट ३६  जनाको उद्धार गरिएको छ । काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो ।

काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट ६ जनाको उद्धार गरिएको छ ।