युद्धमा मारिएका इजरेली सेनाहरु मृत्युपछि पनि बन्दैछन् ‘बुबा’
एजेन्सी– इजरायल–हमास युद्धमा मारिएका इजरेली सेनाहरु मृत्युपछि पनि बुबा बन्दैछन् । इजेरलले शुक्राणुको संरक्षण गर्ने कानुनी व्यवस्थालाई खुकुलो बनाइदिएपछि युद्धमा मारिएका सेनाको परिवारले मृतकको वंशलाई अघि बढाउने चाहना व्यक्त गरिरहेका छन् ।
गत अक्टोबरको हमास हमलामा इजरायलका झण्डै बाह्र सयजना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो। उक्त हमलाको जबाफमा इजरेलले गाजामा ठूलो सैन्य कारबाही चलायो। उक्त कारबाहीमा ३९ हजार प्यालेस्टिनीहरू मारिइसकेका हमासले दाबी गरेको छ । उक्त युद्धमा ४०० इजरेलीको पनि ज्यान गएको छ।
युद्धमा कयौँको ज्यान जाँदैगर्दा इजरेली झण्डै १७० जना जवान पुरुषहरूको मृत्युपछि शुक्राणु संरक्षण गरिएको बिबिसीले जनाएको छ । सैनिक र गैरसैनिक दुवैथरिका युवकहरुको शुक्राणु संरक्षण गरिएको हो ।
शुक्राणु संरक्षण प्रक्रियामा अण्डकोशमा एउटा चिरा पारिन्छ र एउटा सानो कोषलाई झिकिन्छ। त्यसपछि प्रयोगशालामा लगेर उक्त कोषबाट जीवीत शुक्राणुलाई अलग्याउन र भण्डारण गर्न सकिन्छ।
मृत्युको २४ घण्टाभित्र उक्त कार्य गरिएको खण्डमा शुक्राणुको संरक्षण कार्य सफल हुने दर उच्च हुन्छ। तर कोषहरू ७२ घण्टासम्म पनि जीवित रहन सक्छन्।
फ्रान्स, जर्मनी र स्वीडेनलगायतका केही देशले मृतकको शरिरबाट निकालेर शुक्राणु संरक्षण गर्नमाथि पूर्ण प्रतिबन्ध लगाएका छन्। अन्य देशहरूमा मृतकले जीवित छँदै शुक्राणु भण्डारणका निम्ति सहमति जनाएको खण्डमा मात्र शुक्राणुको संरक्षण गर्न सकिने व्यवस्था छ ।
शुक्राणु संरक्षण भइसकेपछि युवककमा अभिभावक वा पत्नीले अदालतमा मृतक युवक सन्तान जन्माउन चाहन्थे भनेर अदालतमा आधार पेश गर्नुपर्ने हुन्छ । मृतक विवाहित भएमा उनको श्रीमतीलाई गर्भधारण गर्न केहि सजिलो हुन्छ । आमाबुबालाई भने अदालतबाट स्विकृती पाउन वर्षौँ लाग्नसक्छ ।
अविवाहित मृतक सेनाका वुवाआमाले शुक्राणुबाट सन्तान जन्माउन विज्ञापन दिने गरेका छन् । विज्ञापनमार्फत इच्छुक महिलाहरुले गर्भधारणका लागि आवेदन दिन्छन् । त्यस्ता सन्तानको सम्पूर्ण जीम्मेवारी आमाले निभाउनुपर्ने हुन्छ । यद्यपी त्यस्ता बच्चाहरु जन्मँदा नै बुबाको मृत्यु भइसकेकाले टुहुरो हुने भएकाले यस्तो गर्न हुन्छ की हुँदैन भनेर विभिन्न कानुनी र नैतिकताका प्रश्नहरु उठिरहेको छ ।