पूर्वराजा ज्ञानेन्द्र शाहको नाम लिँदै कड्किए देउवा, सदासयता नदेखाएको भए परिस्थिति अर्कै बन्ने ठोकुवा


काठमाडौं – नेपालको राजनीति र आर्थिक क्षेत्रमा कांग्रेसले लिएको अडान नै कार्यदिशा बन्दै आएको छ । २००७ सालदेखि २०६२÷६३ को जनआन्दोलनसम्म कांग्रेसले नै नेतृत्वदायी भूमिका निभाएको थियो । लोकतान्त्रिक पार्टी भएकाले पनि अन्तर्राष्ट्रिय शक्तिले कांग्रेसलाई पत्याउँदै आएका छन् ।

तर कांग्रेसले भने राजसंस्था बोकेर पटकपटक धोका खाँदै आएको छ । २००७ सालदेखि २०५९ सालसम्म कांग्रेसले राजसंस्थालाई काँधमा बोक्दै आएको हो । तर राजसंस्थाले कांग्रेसका नेतालाई दुःख दिन कहिल्यै छाडेन । २०१७ सालमा राजा महेन्द्रले प्रधानमन्त्रीसमेत रहेका बीपी कोइरालालाई जेल हाले । धेरै नेतालाई निर्वासनमा जान बाध्य पारियो । २०५९ सालमा राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई जेल हाले । ज्ञानेन्द्रले शाही आयोग बनाएर जेलमै कोचिराख्ने मनसाय देखाए । त्यही भएर होला अहिले कांग्रेस राजसंस्था भन्नेवित्तिकै बुरुक्क उफ्रिन्छ ।

राजसंस्थाबाट पटकपटक धोका खाएका देउवा नै अहिले कांग्रेस सभापति छन् । त्यही भएर अहिले उनी ज्ञानेन्द्रको नाम सुन्नै चाहँदैनन् । सोमबार कांग्रेसको पदाधिकारी बैठकमा पनि देउवा ज्ञानेन्द्रको नाम लिएर आक्रोशित बनेका थिए । देउवाले ज्ञानेन्द्र शाह यो देशमा बस्न पाउनु नै उनीप्रति राजनीतिक दलहरूले देखाएको सदाशयता हो भनेर बुझ्नुपर्ने धारणा राखेका थिए ।
पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा देउवाले राजावादीको पछिल्लो सक्रियताबारे ब्रिफिङ गर्दै विगतमा राजतन्त्रले जनतालाई दिएको दुःखका बारेमा जनतालाई पुनःस्मरण गराउनुपर्ने बेला भएको बताएका थिए । २०६२/६३ को जनआन्दोलनको सम्झना गर्दै उनले अगाडि भने, ‘दोस्रो जनआन्दोलन केही दिनमात्रै निरन्तर चलेको भए पूर्वराजा ज्ञानेन्द्र देश नै छोडेर भाग्नुपथ्र्यो । तर हामीले सदाशयता देखायौं । अहिले फेरि ज्ञानेन्द्र नारायणहिटीमा पस्न खोज्दैछन् । त्यो कुनै हालतमा सम्भव छैन । संविधानले पनि चिन्दैन । फेरि लोभ गर्न थाले भने राम्रो हुँदैन ।’​

राजावादीलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार रहेको भन्दै देउवाले संविधान र व्यवस्था मास्ने कुरा उचित नभएको बताएका थिए । देउवाले अहिलेको जस्तो स्वतन्त्र र उन्नत व्यवस्था अर्को नभएकाले अब कांग्रेसले पनि गणतन्त्रका पक्षमा गाउँसहर देशैभरि जागरणसभा गरेर जनतालाई झकझक्याउने बेला भएकोले त्यसतर्पm ध्यान दिन पदाधिकारीलाई आग्रह गरेका थिए । विगतमा संवैधानिक राजा मान्दा पटकपटक धोका पाएको भन्दै कांग्रेसले अब कुनै पनि प्रकारको राजसंस्थाको पक्षमा नउभिने पनि स्पष्ट पारेको छ ।