काठमाडौं – संसदमा रहेका प्रतिपक्ष दलको पहिलो चरण बैठक सकिएको छ। प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सदन खुलाउन तीनबुँदे माग अघि सारेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन २०६४ आएपश्चातको समयदेखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको (भिजिट भिसा प्रकरण) सम्बन्धित छानबिन आयोग बनाउने र यसलाई सधैका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने, आवश्यक छानबिन गर्न वर्तमान गृहमन्त्री मार्गप्रशस्त गर्नुपर्ने र यसवारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा प्रतिबद्धता ब्यक्त गर्नुपर्ने माग अघि सारिएको छ ।
विपक्षी दलको बैठकको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुखको कार्यकक्षमा हुँदै गरेको बैठकमा पुगेका छन् । प्रतिनिधिसभा बैठक बस्नुअघि कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति बनाउन प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् । बैठकमा प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू, रास्वपा कार्यबाहक सभापति डीपी अर्याल, विराजभक्त श्रेष्ठ, सन्तोष परियार, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नेसपा अध्यक्ष महीन्द्र राय यादवलगायत सहभागी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् चल्न नदिने अडान राखेका छन् । जसकारण आजदेखि सुरु हुने भनिएको बजेटमाथिको छलफलसमेत प्रभावित हुने देखिएको छ । विपक्षी दलले गृहमन्त्री लेखकलाई संसदमा बोल्नसमेत दिएका छैनन् । जसले गर्दा सत्तापक्ष र प्रतिपक्षबी टकराव उत्पन्न भएको छ । विपक्षी मोर्चाको बैठकमा गृहमन्त्री लेखकलाई बोल्न दिने कि नदिने भन्ने विषयमा अहिले छलफल जारी छ । विपक्षी दलमै रहेको एकीकृत समाजवादीले भने गृहमन्त्री लेखकलाई बोल्न दिनुपर्ने बताउँदै आएको छ । तर रास्वपा भने सख्त देखिएको छ ।
प्रतिक्रिया