Logo

कार्यदलले बुझायो सिमलताल दुर्घटनाको अध्ययन प्रतिवेदन

काठमाडौं– चितवनको सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ । मंगलबार सिंहदरबारमादुर्घटनाको अध्ययन गर्न गठित कार्यदलका संयोजक सहसचिव छवि रिजालले गृहमन्त्री रमेश लेखकलाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा दुर्घटना स्थलमा कमजोर भूगोल तथा अत्याधिक क्रस स्लोप भएको देखिएको जनाइएको छ । सडकमा कुनै टेवा पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गई सडकमा क्रस गर्दै गएका दुईवटा बसलाई पहिरोले धकेलेर त्रिशुली नदीमा खसालेको देखिएको कार्यदल संयोजक रिजालले बताए ।

त्यस्तै दुर्घटनास्थलभन्दा माथिल्लो भेगमा ग्रामीण सडक बनाउँदा समग्र वातावरणीय पक्षमा ध्यान नदिएको र त्यसको प्रभाव तल्लो क्षेत्रमा परेको कार्यदलको निचोड छ ।

अध्ययनका क्रममा दुर्घटनामा बाँच्न सफल भएका व्यक्ति, प्रत्यक्षदर्शी, सडक विभाग, चितवन प्रशासन कार्यालयलगायतसँग छलफल गरिएको रिजालले उल्लेख गरे । सडक दुर्घटनामा ज्यान गएकाको परिवारलाई उचित क्षतिपूर्ति र बीमावापतको रकम दिन ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।

अध्ययन प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले अझै पनि दुर्घटनामा परेका अधिकांश फेला नपर्नु दुस्खद भएको भन्दै आगामी दिनमा दुर्घटना न्यूनीकरण गर्न सरकारले आवश्यक नीति बनाउने बताए । उनले कार्यदलको प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

गत असार २८ गते नारायणगढ(मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । दुईवटा बस अझै फेला परेका छैनन् भने २४ यात्रुको शव फेला परेको छ भने अझै कम्तीमा ३८ यात्रु बेपत्ता छन् ।

 

प्रतिक्रिया दिनुहोस्