अमेरिकामा लिग–२ खेल्न सन्दीपले पाए भिसा
काठमाडौं– आईसिसी टि–२० विश्वकप खेल्न जान अमेरिकाको भिसा नपाएका नेपाली क्रिकेट टोलीका स्पिन सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ।
आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। उनलाई तीन महिनाको लागि भिसा दिइएको बताइएको छ ।
मंगलार क्यानडा टुरमा जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन्दीपलाई भिसाबारे अमेरिकाले ‘ग्रिन सिग्नल’ दिएको बताएका थिए। सोहि दिन सन्दीपले भिसा पाएका हुन् ।
यतिबेला नेपाली क्रिकेट टोली आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने एक दिवसीय त्रिकोणात्मक सिरिज खेल्न क्यानडा प्रस्थान गरिसकेको छ । क्यानडामा हुने सिरिज खेलिसकेपछि अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जाने छ।
क्यानडामा हुने सिरिजअन्तर्गत नेपाल, क्यानडा र ओमानबीच खेल हुन लागेको हो । उक्त तालिकाअनुसार पहिलो खेल नेपाल र क्यानडाबीच हुने क्यानले जनाएको छ । १६ सेप्टेम्बरमा हुने पहिलो खेलमा नेपाल आयोजक क्यानडाविरुद्ध भिड्नेछ । त्यस्तै १८ सेप्टेम्बरमा नेपालले ओमानको सामना गर्नेछ ।
२२ सेप्टेम्बरमा पुनः नेपाल र क्यानडाबीच खेल हुनेछ भने २४ सेप्टेम्बरमा ओमान र नेपालबीचको खेल हुनेछ ।
ओडीआई सिरिज सकिएको २ दिनपछि तीनवटै टोलीबीच टी–२० अन्तर्राष्टंरिय सिरिज हुने भएको छ । टी–२० मा पनि नेपालले घरेलु टोली क्यानडाको सामना गर्नेछ ।
टि–२० सिरिज सक्किएपछि अर्को त्रिकोणात्मक सिरिज खेल्न अमेरिका जाने छ । उक्त खेलको तालिका भने सार्वजनिक भइसकेको छैन ।
लिग–२ खेल्ने टोलीमा सन्दीपसँगै रोहित पौडेलको (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) रहेका छन् ।