भिसा नपाउँदा पूरा नहुने भयो ९ खेलाडीको चेस ओलम्पिक खेल्ने सपना
काठमाडौं– हंगेरीको बुढापेस्टमा सुरु भएको ४५ औं चेस ओलम्पियाडमा नेपाली खेलाडी जान नपाउने भएका छन् । मंगलबारदेखि औपचारिक रूपमा सुरू ओलम्पियाडमा छनोट भएका नेपालका ९ जना खेलाडीको सहभागिता नहुने भएको हो।
प्रतियोगिताका लागि नेपालबाट १० खेलाडी छनोट भएका थिए। १० खेलाडीमध्ये विवेक थिङ अस्ट्रेलियाबाट मंगलबार बुढापेस्ट पुगेका छन् । उनीबाहेक अन्य खेलाडीले चेसमा सहभागिता जनाउन नपाउने भएका हुन् ।
नेपालमा रहेका अरू ९ खेलाडीले भने भिसा प्राप्त गर्न नसक्दा उनीहरुको ओलम्पिक खेल्ने सपना चकनाचुर भएको छ । ओलम्पियाडमा नेपालबाट पुरुषतर्फ राजन सुवेदी, सुश्रुत दाहाल, क्षितिज भण्डारी, रुपेश जैसवाल र विवेक थिङ छनोट भएका थिए। महिलातर्फ सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र रिया श्रेष्ठ सहभागी हुने बताइएको थियो।
नेपालका ९ खेलाडीसहित २१ जनाको हंगेरीको भिसाका लागि काठमाडौंस्थित जर्मन दूतावासमा भिसा आवेदन दिइएको थियो। तर दूतावासले ९ खेलाडीसहित सबै जनालाई भिसा दिन अस्वीकार गर्यो।
नेपालबाट भिसा नपाएपछि ९ जना खेलाडी सहित नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, सदस्य राजु ताम्राकार भारतको नयाँ दिल्ली गएका थिए। तर त्यहाँबाट पनि खेलाडीसहितका पदाधिकारीलाई भिसा प्राप्त नभएको सदस्य राजु ताम्राकारले जानकारी दिए।
नेपाली टोली भारतको दिल्लीस्थित हंगेरी दूतावास पुगेर आवश्यक प्रकिया पूरा गरे पनि दूतावासले आवेदन नदिन भनेपछि भिसा प्राप्त गर्न नसकिएको ताम्राकारले बताए।