कांग्रेस एमालेको घुसपैठिया भन्दै रास्वपाको कार्यकर्ताबाट कुटिएका व्यक्ति रास्वपाकै नेता

17.6k
Shares

काठमाडौं– रवि लामिछानेको पक्राउको विरोधमा आइतबार पोखरामा भएको प्रदर्शनमा कांग्रेस एमालेको घुसपैठिया भन्दै कुटिएका व्यक्ति रास्वपाकै कार्यकर्ता भएको खुलेको छ । रास्वपा मादी गाउँपालिका संयोजक पदमराज पौडेललाई रास्वपाकै कार्यकर्ताले घुसपैठियाको आरोपमा कुटपिट गरेका थिए ।

उनलाई रास्वपा सांसद हरि ढकालकै अगाडी निर्घात कुटपिट गरिएको थियो । प्रहरीले कजोगाएर उनलाई लैजान खोज्दा पनि रास्वपा कार्यकर्ताले लखेटी लखेटी कुटेका थिए । प्रहरीमाथि पानीको बोतल प्रहार गरेपछि उनी घुसपैठिया भएको आशंकामा नियन्त्रणमा लिइएको र त्यसक्रममा केही व्यक्तिले कुटपिट गरेको रास्वपा नेताहरूले बताएका छन् ।

नचिनेका कार्यकर्ताहरूको कुटाइबाट आफू घाइते भएको बताएका छन् । कार्यकर्ताहरुको मुक्का प्रहारबाट उनको मुख फुटेको थियो । उनको मुखमा २ टाँका लगाएर हाल घरमै आराम गरिरहेका छन् ।

घुसपैठीयाको नाममा कुटिएका उनलाई रास्वपाका शीर्ष नेताहरुले घरमै पुगेर भेटेका छन् । उनलाई रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, सांसद तोसिमा कार्कीले घरमै पुगेर भेटेका हुन् । तोसिमाले उनको घरमै स्वास्थ्य जाँच समेत गरेको जनाइएको छ । पौडेलले आफू बेड रेष्टमा रहेको र पार्टीको आन्दोलनलाई समर्थन रहेको प्रष्ट पारेका छन् ।