लाखौँ डलरमा बिक्री भयो एआईले बनाएको चित्र


काठमाडौं– एआई रोबोटले बनाएको एउटा पेन्टिङ लाखौँ रुपैयाँमा बिक्री भएको छ । एआई–डा नाम गरेको .ह्युमनाइड रोबोटले बनाएको पेन्टिङ १० लाख अमेरिकी डलरभन्दा बढी मूल्यमा बिक्री भएको हो । यसको बिक्रीसँगै कलामा एआईको प्रयोगका विषयमा विभिन्न बहससमेत छेडिएको छ ।

लाखौँ डलरमा बिक्री भएको उक्त पेन्टिङ एआई डाले दोस्रो विश्व युद्धका कोड ब्रेकर एवं गणितज्ञ एलन ट्युरिङको डिजिटल चित्र बनाएको हो । यो चित्र १० लाख ८४ हजार अमेरिकी डलर (करिब १४ करोड ७२ लाख रुपैयाँ) मा बिक्री भएको अन्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनले लेखेको छ ।
​एलन ट्युरिङलाई ‘फादर अफ एआई’ समेत भन्ने गरिन्छ । युद्धताका नाजी जर्मनीको कोड ब्रेक गर्न उनले प्रमुख भूमिका खेलेका थिए । उनको एआईले बनाएको चित्र न्यूयोर्कको सोदबीज लिलामीमा कीर्तिमानी मूल्यमा बिक्री भएको हो ।

यससँगै लिलामीमार्फत आफ्नो कला बेच्ने पहिलो ह्युमनाइड रोबोट एआई–डा बनेको छ । लाखौँ डलरमा बिक्री भएको उम्त चित्रमा ट्युरिङको ठूलो आकारको मुहारको चित्र (पोर्टेट) राखिएको छ । अनलाइनमार्फत लिलामी गरिएको चित्रमा २७ जनाले आफ्नो बोली लगाएका थिए । उक्त चित्र खरिद गर्ने ग्राहकको वास्तविक नामभने हालको लागि गोप्य राखिएको छ ।

एआई–डाले चित्र बनाउनेसँगै मानवसँग कुराकानी मार्फत अन्तरक्रिया समेत गर्न सक्छिन् । नयाँ प्रविधिबारे छलफल चलाउन सक्नु नै आफ्नो कामको प्रभाव भएको उनी बताउँछिन् । रोबोटले बनाएको चित्र त्यति महँगोमा बिक्री हुनुले कला र समाजमा एआईको प्रभाव बढ्दै गएको कुरालाई प्रमाणित गरेको बताइएको छ ।