रुपन्देही– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप अनुसन्धानका लागि पोखराबाट रुपन्देही लग्ने प्रहरीले तयारी गरेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनको कास्की जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको छ । थप अनुसन्धानका लागि अब उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही लग्ने तयारी भएको प्रहरी स्रोतले बताएको छ । रविलाई सोमबार साँझ वा नभएमा मंगलबार विहान विमानबाट भैरहवा लग्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ रवि तत्कालिन प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप छ । उक्त कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई यसअघि नै अनुमति दिइसकेको छ ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय पार्टी कार्यालयबाट पक्राउ परेका रवि लामिछानेलाई सोहि दिन कास्की पुर्याइएको थियो । पहिलोपटक कात्तिक ४ गते जिल्ला अदालत कास्कीले ५ दिन, दोस्रोपटक ७ दिन, तेस्रो पटक १० दिन हुँदै आइतबार थप १३ दिनको म्याद थप गरेको छ । अदालतबाट अनुमति लिएर कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धान गरिरहेको छ । यसै क्रममा पोखरामा अनुसन्धान नसकिँर्द रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही प्रहरीले उनलाई ल्याउन लागेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका १८ सय ३१ जनाले आफूहरुको ८६ करोड बढी वचत अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।
यसअघि सहकारी ठगी आरोपमा कास्कीमा थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेलाई रुपन्देही ल्याएर बयान लिई कास्की पठाइसकिएको छ ।
प्रतिक्रिया