काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रले साना कृषकलाई उपयोगी हुने औजारको डिजाइन पठाउन अनुरोध गरेको छ । केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जाल मार्फत इन्जिनियरिङ अध्ययन गरिरहेका वा अध्ययन पूरा गरिसकेका विद्यार्थीलाई कृषि औजारको मोडलिङ र एनालाइसिस पठाउन आह्वान गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै लेखेका छन्, ‘इन्जिनियरिङ पढिरहेको वा पढिसकेका जो कसैले पनि साना कृषकलाई उपयोगी हुने कुनै पनि कृषिको साना र हाते औजारको कम्प्युटरमा मोडेलिङ एन्ड एनालाइसिस गरेर पठाउन प्रस्ताव आह्वान गरिन्छ ।’ विद्यार्थीहरुले पठाएको प्रस्ताव छानिएको खण्डमा पुरस्कार स्वरूप १५ हजार रुपैयाँसमेत दिइने अध्यक्ष पुनले बताएका छन् ।
यदि त्यस्ता औजार आफैंले बनाउने हो भने पनि नमुना बनाउन चाहिने पूर्ण सहयोग राष्ट्रिय आविष्कार केन्द्रले उपलब्ध गराउने उनले बताएका छन् । कृषकका लागि उपयोगी हुने औजारको डिजाइन सीप भएका जोकोहीले प्रस्ताव पठाउन सक्ने उनले बताएका छन् ।
प्रस्ताव राष्ट्रिय आविष्कार केन्द्रको इमेल एड्रेसमा पठाउन सकिन्छ । यसका लागि अन्तिम मिति तोकिएको छैन । सीप भएको व्यक्तिले जहिले पनि कृषि औजारको डिजाइन पठाउन सक्ने उनको भनाइ छ । यी औजार वीरगञ्जस्थित कृषि औजार कारखानामा प्रयोग हुनेछन् ।
प्रतिक्रिया