अमेरिकाको विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु


वासिङ्टन– अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । साथै अन्य १६ जना घाइते भएका छन् ।

मेसिनगन राखेको आरोपमा २५ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको अलाबामा कानुन प्रवर्तन एजेन्सीले एक समाचार विज्ञप्तिमार्फत जनाएको छ । विज्ञप्तिअनुसार मेसिनगन रूपान्तरण उपकरणका साथ ह्यान्डगन लिएर घटनास्थलबाट बाहिर जाँदै गर्दा ती व्यक्तिलाई पक्राउ गरिएको थियो ।

विश्वविद्यालयले कानुन प्रवर्तनले घटनास्थललाई सुरक्षित गरेको र अलाबामा ब्युरो अफ इन्भेस्टिगेसनले अनुसन्धान गरिरहेको बताएको छ । संयुक्त राज्य अमेरिकामा यस वर्ष हालसम्म ५४ वटा सामूहिक गोलीबारीको घटना घटिसकेका छन् ।

यसअघि गत अक्टोबर १९ मा अल्बानी स्टेट युनिभर्सिटीमा भएको गोली हानाहानमा एकजनाको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए । सोही दिन मिसिसिपीमा गोली चल्दा तीनजनाको मृत्यु भएको थियो भने अन्य आठजना घाइते भएका थिए ।